दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

शुक्रबार, २५ फागुन २०७४, १८ : १०
दोहोरो सुविधा लिने भूकम्पपीडितबाट अनुदान फिर्ता गरिने

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने भएको छ । गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सरकारी अनुदानप्राप्त लाभग्राहीको अलग अलग विवरण तयार पार्न जिल्ला समन्वय समितिको सचिवालयलाई पत्राचार गरिएको प्राधिकरणका सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले राससलाई जानकारी दिनुभयो । “दुवै सूची आएपछि सरकारतर्फको अनुदान सरकारी बाँकीसरह असुलउपर गर्ने काम अघि बढाइनेछ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइमार्फत प्राधिकरणले सो विवरण प्राप्त गरी असुलउपरको काम हुनेछ”, उहाँले भन्नुभयो ।

गैरसरकारी संस्थाले किस्ता नदिई आवास पुनःनिर्माण गरेका वा एकीकृत बस्ती विकासअन्तर्गत अनुदान प्राप्त लाभग्राहीले पनि सरकारी अनुदान लिएको भए फिर्ता गरिने छ । सामाजिक संस्थाले प्राधिकरणसँग सम्झौता नगरी आवास पुनःनिर्माण वा एकीकृत बस्ती बनाइदिएका लाभग्राहीले लिएको सरकारी अनुदान पनि फिर्ता गर्नुपर्नेछ । जनता आवासलगायत अन्य माध्यमबाट घर बनाएका लाभग्राहीले पनि तीन किस्ताको रु तीन लाख अनुदान पाउने छैनन् । (रासस)

प्रतिक्रिया दिनुहोस