महन्थ ठाकुरलाई उपराष्ट्रपतिको ‘अफर’

शुक्रबार, २५ फागुन २०७४, १६ : २९
महन्थ ठाकुरलाई उपराष्ट्रपतिको ‘अफर’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई सरकारमा ल्याउन प्रयास गरिरहेका छन् । संघीय समाजवादी फोरमले बैठक बसेर ओली नेतृत्वको सरकारका जाने निर्णय गरिसको छ । तर मन्त्रालयको विषयमा टुंगो नलाग्दा सरकारमा सहभागिता लम्बिएको छ ।

फोरमले उपसभामुखसहित तीन मन्त्रालयमा दाबी पेश गरेको थियो  । तर दुई वटा मन्त्रालय र उपसभामुखमा फोरम राजी भएको छ ।

प्रधानमन्त्री ओलीले अर्को मधेसवादी दल राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास गरिरहेका छन् । त्यसका लागि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग प्रधानमन्त्री ओलीले विभिन्न चरणमा कुराकानी गरेका छन् । भेटेर र टेलिफोनमा ओलीले संविधान संशोधनका विषयमा सरकार सकारात्मक रहेको भन्दै सरकारमा सहभागी हुन र राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजपाका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बन्न समेत आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान संशोधन र ठाकुरलाई उपराष्ट्रपति दिन सकारात्मक रहेको स्रोतको दाबी छ ।

ठाकुर पनि त्यसमा सहमत देखिएका छन् तर पार्टीभित्रबाट निर्णय गराएर मात्र उनी उपराष्ट्रपति बन्न चाहन्छन् । उनले आफू निकटका नेताहरुलाई उपराष्ट्रपति बन्न आफू तयार रहेको बताउने गरेका छन् ।
राजपाले उपराष्ट्रपतिसहित दुई मन्त्रालयमा दाबी गरेको छ ।

ओलीले ठाकुरलाई राखेको प्रस्तावबारे छलफल गर्न आज राजपाको बैठक बसिरहेको छ । बैठकले प्रधानमन्त्रीका ओलीको प्रस्ताव, सरकारमा राजपाको सहभागिता, संविधानसंशोधनका विषय बारे छलफल हुने राजपाका एक नेताले बताए । राजपाका नेताहरुले संविधान संशोधनका विषयमा कुरा मिले सरकारमा जान सकिने बताएका छन् । तर, राजपाका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नगरि सरकारमा नजाने राजपाको निर्णय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस