आज विश्व हुलाक दिवस : नारा ‘मोर देन मेल’

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, १३ : ३८
आज विश्व हुलाक दिवस : नारा ‘मोर देन मेल’

काठमाडौँ । आज अक्टोबर ९ तारिख अर्थात विश्व हुलाक दिवस । यसवर्ष ‘मोर देन मेल’ मुख्य नरासहित विश्वभर १ सय ४६ औं हुलाक दिवस मनाईंदै छ । 

काठमाडौंको चारखालस्थित गोश्वरा हुलाक कार्यालयमा एक कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै हुलाक सेवा विभागकी महानिर्देशक आभा श्रेष्ठ कर्णले प्रविधिको चुनौति र अवसरसँगसँगै हुलाक सेवालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । 

उनले पछिल्लो समयको सेवा प्रवाहलाई समयसापेक्ष बनाउन संगठनको संरचनात्मक सुधार, कर्मचारीमा उत्प्रेरणा र स्रोतसाधनको उपयोग अधिकतम बनाउनुपर्नेमा जोड दिइन् । हुलाक सेवालाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउन सबै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने समेत श्रेष्ठले बताइन् ।

संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले विश्व हुलाक संघको स्थापना भएको दिन हरेक वर्ष अक्टोबर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ । आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउने र भाइचारा विकास गर्ने उद्देश्यले सन १८७४ अक्टोबर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो ।

नेपालले सन १९५६ मा उक्त संघको सदस्यता लिएको थियो । सदस्यता लिएसँगै हरेकवर्ष नेपालमा पनि विश्व हुलाक दिवस मनाईंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस