सोल्माका अग्निपीडितलाई राहत वितरण

शुक्रबार, २५ फागुन २०७४, १३ : २४
सोल्माका अग्निपीडितलाई राहत वितरण

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सोल्माका अग्नीपीडितलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले राहत वितरण गरेको छ ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहितको टोलीले बिहीबार आगलागीस्थलको अवलोकनसमेत गर्दै पीडित परिवारलाई नगद रु २० हजार अत्यावश्यक खाद्यान्नका सामग्री वितरण गरेको हो ।

मंगलबार दिउँसो भएको आगलागीबाट छघर पूर्णरुपमा जलेर नष्ट भएका थिए तर पूर्णरुपमा विस्थापित तीन परिवारलाई मात्रै तत्काल राहत वितरण गरिएको छ ।

लोकनाथ न्यौपाने, नेत्र अधिकारी र लक्ष्मी अधिकारीको परिवारलाई प्रतिपरिवार नगद रु २०–२० हजार, चामल प्रतिपरिवार ४० किलो, चिनी, दाल र तेल पाँच–पाँच केजी, चिया दुई–दुई प्याकेट उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।

वनमा लागेको आगो गाउँमा सल्किँदा लोकनाथ न्यौपाने, गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नेत्रप्रसाद अधिकारी, एकराज तिम्सिना र पशुपति लुइँटेलका घर जलेर नष्ट भएका थिए ।

मान्छे नबस्ने खाली घर भएकाले गोविन्द अधिकारी, एकराज तिम्सिना र पशुपति लुइँटेललाई अब समितिको बैठक बसेर निर्णय भएपछि मात्रै राहत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस