पल र साम्राज्ञी फिल्म ‘रेड वाइन’मा प्रेम जोडी बन्ने

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १२ : ३६
पल र साम्राज्ञी फिल्म ‘रेड वाइन’मा प्रेम जोडी बन्ने

काठमाडौं । अभिनेता पल शाह तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘रेड वाइन’मा प्रेम जोडी बन्ने भएका छन् । 

निर्माता रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘रेड वाइन’मा पल र साम्राज्ञी प्रेम जोडीको रुपमा देखिन लागेका हुन् । दुबैको प्रेमकथा फिल्ममा उत्कृष्ट हुने निर्माण युनिटको अनुमान रहेको छ ।

यसअिघ रूद्रप्रिया तथा रज्जारानी जस्ता फिल्म निर्माण गरेका पौडेलको निर्देशनमा यो डेब्यु फिल्म हो । फिल्मको छायांकन अमेरिकामा गरिने बताइन्छ । फिल्ममा कथा, गीत समेत निर्देशन पौडेलकै रहनेछ । फिल्मको पटकथा तथा संवाद भने निर्देशक समेत रहेका सविर श्रेष्ठको रहनेछ । 

कोरोना संक्रमणको अवस्था हेरेर फिल्मको छायांकन दशैं र तिहारको बीचमा गर्ने आफ्नो योजना रहेको निर्माता निर्देशक पौडेलले बताए ।

पल र साम्राज्ञीसंगै सन्दीप क्षेत्री तथा अमेरिकामा नै बसोबास गर्ने इमिली लामाको अभिनय रहने फिल्म आर्यन फिल्म्स् प्रोडक्सन प्रालि र बोधि एचडी अमेरिकाको ब्यानरमा पासाङ लामा र आर्यन पौडेलको निर्माणमा बन्ने छ ।