राष्ट्रिय सभामा बामदेव गौतमलाई आज प्रधानमन्त्री ओलीले गर्लान त सिफारिस ?

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, ०८ : ४७
राष्ट्रिय सभामा बामदेव गौतमलाई आज प्रधानमन्त्री ओलीले गर्लान त सिफारिस ?

काठमाडौं । सत्तारुढ दल नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त पदमा सचिवालयले सिफारिस गरेको पनि दोश्रो पटक भईसक्यो । १४ फागुन २०७६ मा पहिलो पटक र २०७७ भदौं १८ मा दोश्रो पटक पार्टी सचिवालयले वामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्न प्रधानमन्त्रीलाई निर्देशन गरेको थियो । 

पहिलो पटक पार्टीले निर्णय गर्दा निर्णयको माइन्यूट मसि सुक्न नपाउँदै प्रधानमन्त्री ओलीले पार्टी निर्णय मान्न आफु बाध्य नहुने बताएका थिए । त्यसपछि उनले पार्टी निर्णय कार्यान्वयन नै गरिदिएनन् । पूनः वामदेव गौतमले मेरो निर्णय के हो ? भन्दै प्रधानमन्त्रीलाई सोध्नुपर्ने र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई पटक पटक भनेपछि ओली १८ भदौंको सचिवालयमा आफै अग्रसर भएर पार्टी निर्णय कार्यान्वयनको चरणमा सरकार रहेको बताएका थिए । 

ओलीले भदौं १८ मा गौतमको पक्षमा आफै अगाडी सरेर नबोलेका भए पार्टीभित्र उनी फेरि अप्ठयारोमा पर्न सक्थे । तर उनले त्यही अप्ठयारो बाहिर देखाउन नचाहेरै आफैले गौतमको निर्णय कार्यान्वयनकै क्रममा रहेको बताएका हुन्  । तर उनी आफैले अन्तिम चरणमा रहेको बताएपनि यो १० दिनको बीचमा उनले निर्णय कार्यान्वयन गरेका छैनन् । यो बीचमा एकपटक मन्त्रिपरिषद्को बैठक बसेको छ ।

तर त्यो बैठकमा ओलीले गौतमको राष्ट्रिय सभा सिफारिस प्रस्ताव छलफल मै लगेनन् । मात्र अर्थमन्त्रीबाट विदाई हुदै गरेका निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाको गुणगान र उनको सम्बोधनमै मन्त्रिपरिषद्को मुख्य समय ब्यतित गरे ।  त्यसयता ओलीले क्याबिनेट बैठक राखेका छैनन् । शुक्रबार राख्न खोजेको बैठक पार्टी बैठकका कारण स्थगित गरिएको थियो ।

आज साँझ क्याबिनेट बैठक बस्दैछ । अब के ओलीले गौतमलाई राष्ट्रिय सभा लैजाने प्रस्ताव अगाडी बढाउलान त ? अहिले नेकपाका नेताहरु यही प्रकरणमा के गर्लान् ? कुरेर बसेका छन्  । ओलीले उनको सिफारिसमा किन ढिलाई गरिरहेका छन् ? यो भने बुझिनसक्नु भएको छ । 

गौतमले राष्ट्रिय सभा सदस्यसँगै आफुलाई सरकारको सहयात्री नै बनाउन प्रधानमन्त्री ओलीसँग माग गरेका कारण पनि ओलीले उनलाई तत्काल केही समय राष्ट्रिय सभा लैजान ढिलाई गरेको हुनसक्ने अड्कलबाजी हुन थालेको छ । तर अध्यक्ष प्रचण्डले पटक पटक ओलीलाई छिटो गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्न दबाब बढाएपछि ओलीले आजको क्याबिनेटमा प्रस्ताव लैजान सक्ने अनुमान गरिएको छ ।