नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश

मंगलबार, २२ फागुन २०७४, १७ : ५३
नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश

नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।  माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवकोटालाई पार्टी प्रवेश गराएका हुन् ।

देवकोटा डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिका प्रवक्तासमेत बनेका थिए । उनले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभामा पार्टीले पराजय भोगेको भन्दै त्यसको जिम्मेवारी स्वरुप प्रवक्ताबाट राजीनामा गरेका थिए।

देवकोटालाई पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले अब नेपालमा सबै वामपन्थी एक ठाउँमा आउनुपर्ने बताए । देवकोटाले माओवादीले गरेको जनयुद्धलाई जनतामा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ थियो । प्रचण्डले भने, 'जनयुद्धलाई जनतामा स्थापित गर्ने एक महत्वपूर्ण व्यक्ति हो उहाँ ।

शान्ति प्रक्रियामा आएपछि त्यसलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा सही सावित गर्ने व्यक्ति भएकोले उहाँ पार्टीमा आउँदा ठूलो सन्देश जान्छ ।' प्रचण्डले अब माओवादी पार्टी एकतामा जाने बताए । उनले जनताले एकतालाई अनुमोदन गरेकाले एमालेसँग एकता हुन लागेको बताए। अन्य दलहरूलाई पनि एकतामा आउन उनले आग्रह गरे ।

खिमलाल देवकोटाले पनि डा. भट्टराईलाई माओवादीमै फर्किन आग्रह गरेका थिए । देवकोटा कानुन व्यवसायी पनि हुन् । देवकोटा लामो समय डा. भट्टराई निकट रहेका थिए। नयाँ शक्तिबाट यसअघि देवेन्द्र पौडेलसहित कानेता कार्यकर्ता माओवादीमा फर्किइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस