टाउकोमा दुई गोली लागेको अवस्थामा मृत गैंडा फेला

सफल खबर संवाददाता

मंगलबार, २३ भदौ २०७७, १८ : १७
टाउकोमा दुई गोली लागेको अवस्थामा मृत गैंडा फेला

चितवन । टाउकोमा दुई गोली लागेको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा एक गैंडा मृत भेटिएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार निकुञ्जको रातोपानी घोल भन्ने स्थानमा घोलमा डुबेको अवस्थामा मृत गैंडा भेटिएको हो ।

निकुञ्जको गस्ती टोलीले भदौ २१ गते नै मृत गैंडा भेटेको थियो । गैंडा ५/७ दिन अगाडि मारेको हुनसक्ने निकुञ्जको अनुमान छ । गैंडाको पोष्टमार्टम गर्दा टाउकोमा गोली भने नभेटिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

मृत गैंडाको खाग र खुर भने सुरक्षित छ । निकुञ्जमा २०७३ साल यता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । झण्डै चार बर्षपछि पहिलोपटक गोली लागेको अवस्थामा दुर्लभ सिंगे गैंडा मृत भेटिएको हो । लकडाउन र निषेधाज्ञा लागेका बेला निकुञ्जमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ ।

चालू आर्थिक बर्षमा योसहित चार गैंडा मृत भेटिएका छन् । तीन वटा कालगतिले मरेका थिए । गत आर्थिक वर्ष प्राकृतिक कारणले २६ गैंडा मरेका थिए ।

प्रतिक्रिया दिनुहोस