काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको समस्या समाधान सुझाव कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । कार्यदलले बुझाएको प्रतिवेदनप्रति माधव नेपाल समूह यतिबेला व्यापक असन्तुष्ट बनेको छ । यसअघि एक व्यक्ति एक पदलाई माधव नेपाल समूहले कार्यान्वयनमा ल्याउन सुझाव दिएको थियो । सोही विषयलाई प्रतिवेदनमा कतै नदेखेपछि माधव नेपाल समूह प्रतिवेदनप्रति सन्तुष्ट छैन ।
नेकपाको पछिल्लो विवाद विधान कार्यान्वयनसँग गाँसिएको एक व्यक्ति, एक मुख्य जिम्मेवारीमा केन्द्रित थियो । गत साउन ३० गते गठन गरेको पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले समस्याको चुरो कुरा नै छुटाएर प्रतिवेदन तयार पारेपछि माधव समूहले असन्तुष्टि पोखेको छ । यतिबेला नेपाल समूहले आफ्ना दुई सदस्यहरूको भूमिकामाथि प्रश्न उठाएको छ । कार्यदलमा नेपाल समूहका दुई नेता भीम रावल र सुरेन्द्र पाण्डे थिए ।
‘माधव नेपालले लामो समयदेखि उठाउँदै आएको र पछिल्लोपटक आएर पार्टीको स्थापित मुद्दा बनेको एक पद, एक जिम्मेवारीको विषय नै छुटाएर प्रतिवेदन तयार पारिएको पाइयो’ माधव समूहका एक नेताले भने, ‘यसमा कार्यदलका सदस्यमाथि पनि प्रश्न उठेको छ, कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटीका कतिपय साथी असन्तुष्ट छन् ।’ ती नेताका अनुसार प्रतिवेदनमा विगतमा भएको विवादित पक्षलाई समेटिएको छैन ।
कार्यदलले तयार पारेको प्रतिवेदनले नेपाल समूहले उठाएको विषयको सम्बोधन गर्न नसकेको जिकिर गर्छन् । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटी गठनदेखि नै एक व्यक्ति एक पदको कुरा उठाउँदै आएका थिए । २०७५ भदौ ३ गतेको सात बुँदे नोट अफ डिसेन्टमा पनि एक व्यक्ति एक मुख्य जिम्मेवारीकै कुरा समेटिएको छ ।
पछिल्लो बखेडा र कार्यदल गठनसम्म आइपुग्दा पार्टीको मुख्य विवाद नै यही बनेको थियो । तर यही विषयमा कार्यदलको प्रतिवेदनमा केही उल्लेख नभएपछि नेपाल समूह असन्तुष्ट बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ भदौ २०७७, १५ : १७
लेखकबाट थप