वीरगन्ज । नेपालमा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु भएको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय ९७ हजार २ सय नेपाली रुपैयाँ० मा पाइने यो इन्जेक्सन नेपालमा ६० हजार रुपैयाँसम्ममा खरिदबिक्री हुन थालेको छ । यसको कालोबजारीमा स्वास्थ्यकर्मीहरू नै संलग्न रहेको भेटिएको छ ।
कालोबजारियाहरूले यो इन्जेक्सनलाई भारतकै रक्सौलमा २४ हजार रुपैयाँसम्म र वारिपट्टि वीरगन्जमा ३३ देखि ४० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् ।एक संक्रमितका आफन्तले साउन पहिलो साता वीरगन्जमा उक्त इन्जेक्सन प्रतिभाइल ५० हजार रुपैयाँमा खरिद गरेका थिए । सिकिस्त संक्रमितलाई चिकित्सकले ६ भाइलसम्म रेमडेसिभिर इन्जेक्सन लगाउने गरेका छन् ।
अहिले वीरगन्जमा संक्रमितका आफन्तले ४० हजार रुपैयाँसम्ममा खरिद गरिरहेको उक्त इन्जेक्सन काठमाडौंमा ५० देखि ६० हजार रुपैयाँसम्ममा बेच्ने गरिएको छ । एम्बुलेन्स र भन्सारबाट छुटका मालवाहक सवारीमा रेमडेसिभिर राखेर काठमाडौं पठाउने गरिएको छ । सरकारले भारतबाट आयात खुला गरे पनि वीरगन्जमा रेमडेसिभिर सजिलै उपलब्ध हुन सकेको छैन ।
जानकारका अनुसार रेमडेसिभिरको कालोबजारीमा बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, वीरगन्जका ठूला औषधि व्यवसायी र केही व्यापारी पनि संलग्न छन् । ‘सिकिस्त कोरोना संक्रमितलाई रेमडेसिभिर सिफारिस भएपछि कोरोना अस्पतालबाट परिवारलाई फोनमार्फत जानकारी गराइन्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक संक्रमितका आफन्तले भने, ‘इन्जेक्सन चलाउन चाहनुहुन्छ भने सम्बन्धित मान्छेलाई भेट्नुहोला, ती मान्छेले उपलब्ध गराइदिन्छन् भन्छन् ।’
स्वास्थ्यकर्मीले भनेको मानिसलाई सम्पर्क गर्दा प्रतिभाइलको ४० हजार रुपैयाँ पर्छ, तपाईंलाई हामीले केही कममै उपलब्ध गराउन सक्छौं भन्ने गरेको ती आफन्तले बताए । ‘महामारीका बेला पैसाको मुख कसले हेर्छ रु’ उनले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा भएर मैले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन् ?’
प्रहरीले शनिबार साँझ एक निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ताहिर अन्सारीलाई ३ भाइल रेमडेसिभिरसहित वीरगन्जको नगवाबाट पक्राउ गरेको छ । ती स्वास्थ्यकर्मीको बयानका आधारमा प्रहरीले रक्सौल निवासी भारतीय नागरिक सराज अन्सारीलाई थप ६ भाइल रेमडेसिभिर इन्जेक्सनसहित पक्राउ गर्यो । शनिबार साँझ ५ बजे पक्राउ गरे पनि प्रहरीले अहिलेसम्म उनीहरूलाई सार्वजनिक गरेको छैन ।प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले पक्राउ परेका स्वास्थ्यकर्मी र भारतीय नागरिकलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग पठाउने जनाए ।
‘विशेष सूचनाका आधारमा ताहिरलाई तीन भाइल रेमडेसिभिरसहित पक्राउ गरिएको हो,’ पर्सा प्रहरी प्रवक्तासमेत रहेका डीएसपी कुँवरले भने, ‘ताहिरले जुन व्यक्तिसँग खरिद गरेका थिए, उनलाई पनि पक्राउ गरिएको छ ।’ अनुसन्धान क्रममा रक्सौलबाट खरिद गरिएको मूल्यभन्दा कम्तीमा ४र५ हजार रुपैयाँ बढीमा बिक्री गरेको पाइएको उनले बताए ।
डीएसपी कुँवर ताहिरले आफन्तकै लागि एम्बुलेन्स चालक रहेका सराजसँग रक्सौलबाट मगाएको खुलेको दाबी गरे । स्रोतका अनुसार ताहिर र सराजले यसअघि धेरै भाइल रेमडेसिभिर ल्याएर महँगो मूल्यमा बिक्री गरेका छन् । ‘कोरोना अस्पतालमा कति बिरामीलाई रेमडेसिभिर दिइएको छ, प्रहरीले त्यसको विवरण लिएर बिरामीका आफन्तसँग बुझोस्, कोसँग कतिमा खरिद गरिएको हो,’ स्रोतले भन्यो, ‘त्यसपछि कालोबजारीमा संलग्न धेरैको पर्दाफास हुन्छ ।’
स्रोतका अनुसार गत साता ३५ हजार रुपैयाँ प्रतिभाइलमा इन्जेक्सन खरिद गर्ने व्यक्तिले प्रहरीलाई सूचना दिएपछि ताहिर पक्राउ परेका हुन् । ‘ताहिर एक कन्ट्याक्ट पर्सन मात्र हुन्,’ कोरोना अस्पतालका एक चिकित्सक भन्छन्, ‘प्रहरीले गम्भीर रूपले अनुसन्धान गर्यो भने यहाँका ठूला औषधि व्यवसायी, व्यापारी र केही चिकित्सक पनि तानिने छन् ।’ काठमाडौंमा उपचार गराइरहेका वीरगन्जका एक संक्रमितले गत साता उक्त इन्जेक्सनको ६ भाइल ३ लाख रुपैयाँमा खरिद गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ भदौ २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै