बिद्युत प्राधिकरण धनुषाका प्रमुख एक करोड २४ लाखसहित अख्तियारको फन्दामा

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, १५ : ०७
बिद्युत प्राधिकरण धनुषाका प्रमुख एक करोड २४ लाखसहित अख्तियारको फन्दामा

धनुषा । नेपाल बिद्युत प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । 

एक करोड २४ लाख ९१ हजार एक सय ४५ रुपैयाँको शंकास्पद चेकसहित उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो । उनी नवौ तहका उपप्रबन्धक हुन् । भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरुको भुक्तानी पार्टी पेमेन्ट दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाण्डौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैइसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर काठमाडौं जाने क्रममा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ९ बाट उक्त कार्यालयका चेकहरु तथा त्यससँग सम्बन्धित कागजातहरु सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस