विमलेन्द्र निधि भेट्न अस्पताल पुगे प्रधानमन्त्री देउवा

बुधबार, ०६ मंसिर २०७४, १६ : ५३
विमलेन्द्र निधि भेट्न अस्पताल पुगे प्रधानमन्त्री देउवा

 

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपचाररत काँग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले आज राजधानीको ओम अस्पतालमा उपचाररत नेता निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

आजै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेता निधिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता निधि जिल्लामा चुनावी अभियानका क्रममा धुलोधुवाँका कारण श्वास फेर्न असहज महसुस गरेपछि गत सोमबारदेखि सो अस्पतालमा उपचाररत छन् ।

उनलाई पेटरोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुवोधसागर ढकाललगायतको टोलीले उपचार गरिरहेका छन् । चिकित्सकले उनलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

नेता निधि गत कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृह जिल्ला धनुषामै थिए । रासस

प्रतिक्रिया दिनुहोस