सिन्धुपाल्चोकमा पहिरोले १० जनाको ज्यान लियो, विभिन्न गाउँमा ठूलो क्षति

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १३ : १२
सिन्धुपाल्चोकमा पहिरोले १० जनाको ज्यान लियो, विभिन्न गाउँमा ठूलो क्षति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । 

मेलम्चीमा गएराति आएको पहिरोमा परेर आठ जना वेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले उनीहरु सबैको शव भेटिएको जानकारी दिए । 

मृत्यु हुनेमा सात जना वीरगञ्जका र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको हो । 

अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।   

यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिरोले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ ।

बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको हो । गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् ।

वडाध्यक्ष पासाङ लामाका अनुसार उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् । 

गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिरोले ठूलो क्षति पु¥याएको छ । कसैको घरको आँगन छैन भने कसैको घरका चौपाया पुरिएका छन् ।

प्रतिक्रिया दिनुहोस