मेदान्त र एपोलोभन्दा प्रभावकारी स्वास्थ्य सेवा दिएको चितवन मेडिकल कलेजको दाबी

गत वर्ष तिन लाख २४ हजार ६६९ जना बिरामीले लिए ओपिडि सेवा

प्रकाश सिग्देल

आइतबार, १८ साउन २०७७, १५ : ०९
मेदान्त र एपोलोभन्दा प्रभावकारी स्वास्थ्य सेवा दिएको चितवन मेडिकल कलेजको दाबी

– प्रकाश सिग्देल 
चितवन । चितवन मेडिकल कलेजबाट गत आर्थिक वर्षमा तिन लाख २४ हजार ६६९ जना बिरामीले ओपिडि सेवा लिएका छन् । जसमा ६३ हजार ७ सय ९७ जना बिरामीले स्वास्थ्य बिमा सेवा लिएको, ३०२७ जनालाई निःशुल्क प्रसूति सेवा दिएको र गरिब तथा बिपन्न २९८९४ जना बिरामीलाई ३ करोड ४४ लाख ७३ हजार रुपैयाँ बराबरको छुट गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । 

अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी अस्पतालले बिरामीको निःशुल्क उपचार सेवादेखि सामाजिक उत्तरदायित्वका धेरै काम गरेको लम्सालको भनाई छ । ७५० बेड क्षमतामा संचालनमा रहेको यस मेडिकल कलेजले स्वास्थ्य शिक्षासंग सम्बन्धित २६ चिकित्सा बिधामा कार्यक्रम पनि संचालन गर्दै आएको छ । 

कलेजबाट बार्षिक रुपमा २ हजारभन्दा बढी बिद्यार्थीलाई प्रमाणपत्र तहदेखि फेलोसिपसम्मका कार्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गरेको, उपचार र शिक्षाका लागि काठमाडौं वा बिदेश जानुपर्ने अवस्थाको अन्त्य गदै चितवनमै उच्च क्वालिटिको स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न चितवन मेडिकल कलेज सफल रहेको र मेदान्त र एपोलो अस्पताल भन्दा कुनै पनि कुरामा स्वास्थ्य सेवामा आफुहरु कम नभएको अस्पतालका अध्यक्ष डा. हरिशचन्द्र  न्यौपानेको दाबी छ । 

चितवनका अस्पतालको बिषयमा भ्रम फैलाएर बिरामीलाई बिदेश पठाउन पल्किएका कमिसन खाने एजेन्टहरुले गर्दा पनि यहीँ उपलब्ध हुने सेवाका लागि बिरामी बिदेश गएर समय र पैसा अनाहकमा खर्च गरेको न्यौपानेको भनाई छ । 

आफ्नो अस्पतालमा कुल बिरामीको ६१ प्रतिशत चितवन, १५ प्रतिशत नवलपरासी र बाँकी मकवानपुर, गोरखा, तनहुँ, लमजुङ लगायतका स्थानबाट बिरामी आउने गरेको चितवन मेडिकल कलेजले पत्रकार सम्मेलन गरी जनाएको छ । 

कलेजले सामान्य सेवाबाहेक अतिविशिष्ट सेवाहरुमा पल्मोनोलोजी क्रिटिकल केयर तथा स्लीप मेडिसिन, कार्डियोलोजी, न्यूरो सर्जरी, ग्यास्ट्रोइन्टेरोलोजी, यूरोलोजी, ग्याष्ट्रोइन्टेस्टाईनल सर्जरी, प्लाष्टिक सर्जरी, हेपाटोवेलियरी तथा प्यान्क्रियाटिक, मधुमेह ईन्डोक्रायनोलोजी, हेपाटोलोजी तथा लिभर प्रत्यारोपण, बाल सघन पेडियाट्रिक्स ईन्टेन्सीभिस्ट रहेको अध्यक्ष डा. न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए । 

नेपालकै सबैभन्दा धेरै भेन्टिलेटरसहितको ३७ शैयाको मेडिकल आई.सि.यु.,  २० शैयाको सर्जीकल आई.सि.यु., २० सैयाको एन.आई.सि.यु. र १७ सैयाको पी.आई.सि.यु., ६ सैयाको ईमरजेन्सी आई.सि.यु., १६ सैयाको कोभिड आई.सि.यु. र २० शैयाको सी.सी.यु.सहित १३६ बेडको सेवा दिँदै आएको न्यौपानेको भनाई छ । अस्पतालले मुटु, हेड ईन्जुरी, स्पाईनल ईन्जुरी, डाईलासिस, क्यान्सर, पार्किन्सन र अल्जाईमर रोग भएका बिरामीहरुलाई १ लाखसम्मको निःशुल्क सेवा दिँदै आएको पत्रकार सम्मेलनमा बताइएको थियो । 

कोरोनामा चितवन मेडिकल कलेज 

कोरोना नियन्त्रणका लागि चैतको पहिलो साताबाट छुट्टै कोभिड क्लिनिक संचालन गरी १० सैयाको वार्ड, ५ वटा भेन्टिलेटरसहितको आई.सि.यु. संचालन गरिरहेको र आवश्यक परेमा वार्ड थप गर्ने तयारीमा आफुहरु रहेको कलेज प्रशासन बताउँछ । अस्पतालले अति नै सुरक्षा सावधानी अपनाएर अस्पताल नै संक्रमणको केन्द्र बन्न हँुदैन भन्ने उद्देश्यसहित अस्पतालमा प्रवेश गर्ने डाक्टरदेखि बिरामी र तिनका आफन्तहरुलाई अस्पताल प्रवेश अगाडि नै ज्वरो चेकजाँच गरी सेनिटाईजरले हात सफा गर्न लगाई प्रवेशको ब्यवस्था गरेको बताएको छ । 

अस्पतालले सामाजिक उत्तरदायित्व बहन गर्दै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा क्वारेन्टाईन बनाउन १० बेड, माडी नगरपालिकामा १० बेड र भरतपुर अस्थायी कोरोना अस्पताल बनाउन २० बेड सहयोग गर्नुका साथै भरतपुर कोभिड ल्याबमा ३ महिनाका लागि ४ जना प्राबिधिक जनशक्ति प्रदान गरिएको अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस