चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, १४ : २८
चितवन मेडिकल कलेजमा दश हजारबढी मुटु रोगका बिरामीको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेजले दश हजारभन्दा बढी मुटु रोगका बिरामीको शल्यक्रिया गरेको छ । स्थापना भएदेखि हालसम्म कलेजले क्याथल्याबबाट १० हजार २ सय ५० जनाको शल्यक्रिया गरिएको आज (आइतबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कलेजका अनुसार शल्यक्रिया गरिएका मध्ये पाँच हजार १७३ जनाको मुटुमा जाली हालिएको छ । त्यस्तै ७१८ जनाको मुटुमा ब्याट्री राखिएको कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए । ३०७ वटा मुटुको भल्व खोल्ने, २ हजार १९२ वटा मुटुमा आउने नसाको शल्यक्रिया र १ हजार ८६० जनाको मुटुको जाँच गरिएको उनले बताए ।

चितवन मेडिकल कलेजमा २०६९ सालबाट मुटुरोग विभाग स्थापना गरिएको थियो । सिटिभिएस मार्फत हालसम्म १ हजार ३०० जनाको शल्यक्रिया गरिएको छ । सिटिभिएस भनेको कार्डियो भास्कुलर थेरापिक सर्जरी हो । यो अवधिमा सात दिनको बच्चादेखि ७८ वर्षको बुद्धसम्मको शल्यक्रिया गरिएको कार्यकारी निर्देशक देवकोटाले जानकारी दिए ।

मेडिकल कलेजले न्यूक्लियर कार्डियोलोजी सेवा समेत दिँदै आएको छ । यसले मुटुको काम गर्ने क्षमता नाप्ने काम गरिन्छ । बालबालिकाहरुको मुटु रोग पहिचान र निदान गर्नका लागि मेडिकल कलेजले बाल मुटुरोगको छुट्टै युनिट स्थापना गरिएको जनाएको छ । नेपालमा हरेक वर्ष जन्मजात ६ हजार मुटुरोगका शिशुको जन्म हुन्छ । समयमा उपचार पाए यस्ता विरामी ९९ प्रतिशत निको हुने डाक्टर उदित मिश्रले जानकारी दिए । उनका अनुसार बयस्कहरुमा हुने मुटुरोग जीवनशैलीको कारण लाग्छ भने बाल मुटुरोग धेरैजसा जन्मजात तथा अन्य समस्याले हुने गर्दछ ।

मानिसहरुको जिवनशैलीका कारण मुटुरोगका बिरामी बढ्दै समेत गएका छन् । यस कलेजमा मात्रै दैनिक दुई सय जना मुटुरोग सम्बन्धी समस्या लिएर आउने गरेको मुटुरोग विशेषज्ञ प्रा.डा. श्यामराज रेग्मीले जानकारी दिए । उनका अनुसार सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निस्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायू प्रदुषण, मानसिक तनावका कारण मुटुमा समस्या हुने गर्दछ । यी विषयमा ध्यान दिएमा ८० प्रतिशत मुटुरोगीहरुले अकालमा मृत्युवरण गर्न नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस