कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु, साउन यता मृतकको संख्या १० पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, ०८ : ४५
कोरोना संक्रमणबाट वीरगञ्जमा थप दुई जनाको मृत्यु, साउन यता मृतकको संख्या १० पुग्यो

वीरगञ्ज । केही समय यता कोरोना संक्रमणको इपिसेन्टर बनेको वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्युु भएको छ । यो संगै कोरोनाबाट साउन यता वीरगन्जमा मात्रै मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार राति मृत्यु हुनेमा ५६ र बिहान ६५ बर्षीय पुरुष रहेका छन् । 

गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा ३५ वर्षिय पुरुषको निधन भएको हो । उनी भारतीय नागरिक तथा प्रतिष्ठित व्यापारी घरानाका व्यक्ति रहेको बताइएको छ । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार  अस्पताल पुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा बिहीबार बेलुकी निधन भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । डा. सिंहका अनुसार संक्रमित बिरामीको मुटुको बाइपास सर्जरी भएको र उपचारको क्रममा ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । साउन ५ गते देखि ज्वरो आएका उनी केही दिन निजी क्लिनिकमा उपचार गराएका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि  कोरोना अस्पतालमा रिफर गरिएको थियो ।

उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदन उपाध्यायले जानकारी दिए । त्यसैगरि बिहिबार बिहान अर्का संक्रमितको व्यक्तिको घरमै मृत्यु भएको छ । ६५ बर्षिय उनको मृत्यु पश्चात गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको थियो ।

घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो । बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा.उपाध्यायले बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ५४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस