हटाइए दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाल

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १९ : ०४
हटाइए दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाल

काठमाडौं । काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधा किलो सुन अप्रेशनमा व्यवसायिकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो ।

दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गमा डीएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । 

दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो। सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो । यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस