बढेको बढ्यै छ सुनको मूल्य, पुग्यो तोलाको ९९ हजार

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, ११ : ३३
बढेको बढ्यै छ सुनको मूल्य, पुग्यो तोलाको ९९ हजार

फाइल फोटो

काठमाडौँ । कारोबार ठप्पजस्तै भएपनि सुनको मूल्य नेपाली बजारमा बढेको बढ्यै छ । सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।

विश्व बजारले २ हजार डलर प्रतिऔँस र नेपाली बजारले १ लाख रुपैँया प्रतितोलाको मूल्य निर्धारणलाई प्रतिक्षा गरिरहेको जस्तो देखिन्छ । तर, मूल्य यो विन्दु छोएर पनि पुरानो लयमा फर्किएला भन्ने अनुमान भने कसैले गरेका छैनन् ।

सुनको मूल्य बढ्न थालेको लगातार डेढ वर्ष भइसकेको छ । चीन र अमेरिकाको व्यापार युद्धदेखि नै अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास डलरप्रति कम हुँदै गएको हो । तर, बलियो जगमा निर्माण भएको अमेरिकी अर्थतन्त्रलाई सानोतिनो युद्ध वा प्रकोपले हल्लाउन सक्दैन भन्ने विश्वास सबैलाई थियो । तर कोभिड–१९ का कारण त्यो विश्वास गुम्दै गएको छ । सोही कारण डलरको माग कम र सुनको माग बढी हुँदै गएको हो ।

प्रतिक्रिया दिनुहोस