आज साउन १५ : ‘खीर खाने दिन, विशेष सांस्कृतिक महत्व’

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, ०८ : २०
आज साउन १५ : ‘खीर खाने दिन, विशेष सांस्कृतिक महत्व’

काठमाडौँ  । साउन १५ मा शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ । आजको दिन घर खीर खाने मान्यता रहेकोले सबै परिवार तथा आफन्त भेला भई सामुहिक रुपमा खीर खाने गर्छन् । 

खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने हुँदा कोरोना भाइरस (कोभिड–१९) को विरुद्ध शरीरलाई तन्दुरुस्त राख्न खीर उपयोगी हुन्छ । गोठ धुुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ ।

बाग्मती अञ्चल आयुर्वेद औषधालयमा कार्यरत चिकित्सक डा. अञ्जु कार्की आयुर्वेद शास्त्रमा खीरमा हालिने वस्तुहरू विशिष्ट औषधीय गुुण रहेको बताउछिन् । खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । ‘खीर सहजै पचाउन गाह्रो पर्ने खाद्य परिकार हो, यसलाई पाचनयोग्य र मीठो बनाउनका लागि मसलाको मात्रा मिलाउनुपर्छ,’ डा. कार्की भन्छिन् ।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ । अन्य मसला खीरमा नमिसाएर नरिवल मात्र मिसाउँदा पनि निकै लाभ दिने डा. कार्कीको भनाइ छ ।

वैद्यराज सुवर्ण वैद्यका अनुसार खीरले कफ, पित्त, वायुलाई सन्तुलनमा राख्छ भने शरीर, मनमस्तिस्क सफा गरी शान्त राख्छ । साउने झरीमा खीर भोजनको आफ्नै महìव रहेको वैद्यराज बताउछन् । फिजिसियन चिकित्सक जेनर लामा भन्छन्, –‘वर्षाको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ र त्यसका लागि खीर उत्तम भोजन हो ।’

उहाँका अनुसार चामल, दूध, नरिवल, छोकडा, चिनी हालेर खीर बनाउने चलन छ । लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खीरको सेवन राम्रो मानिन्छ । कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. सत्यमोहन जोशी बताउछन् । उनका अनुसार नेपालमा मात्रै नभएर भारतमा पनि साउनमा खीर खाएमा शुभ हुने मान्यता छ ।

‘साउनमा मासु खानुु उपयुुक्त हुुँदैन, पहिले दूधको परिकार खानुपर्छ,’ संस्कृतिविद् जोशीको भनाइ छ । हिन्दु धर्मावलम्बीका लागि साउन शिवपूजन महिना भएकाले कतिपयले एक महिनासम्म माछा–मासु नखाने चलन छ । खीर पकाउनका लागि दूध राम्रोसँग उमाल्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस