सर्वसम्मतिमै संसदीय दलको नेता छान्नु पर्नेमा जोड

विहीबार, १७ फागुन २०७४, १८ : ०३
सर्वसम्मतिमै संसदीय दलको नेता छान्नु पर्नेमा जोड

काठमााडौं । नेपाली काँग्रेसका नेताहरुले पार्टी संसदीय दलको नेता सर्वसम्मतिमै चयन गर्नुपर्नेमा जोड दिएका छन ।  पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने तयारी भइरहँदा पार्टीका नेताहरुले सर्वसम्मतिमै दलका नेता चयन गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन । काँग्रेस नेता भीमसेनदास प्रधानले देश, जनता र पार्टीको हितका लागि पनि संसदीय दलको नेता चयनका लागि निर्वाचनमा जान उपयुक्त नहुने तर्क गरे । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजाने सन्देश दिन पनि नेताहरुले दलको नेतामा प्रतिस्पर्धा गर्न नहुने बताए ।

नेता मोहम्मद अफताब आलमले संसदीय दलको नेता सर्वसम्मतिमै चयन हुने दाबी गरे । उनले पार्टीले निर्वाचनमा पराजय व्यहोरेको बेला दलको नेता चयनमा विवाद गरिरहन नहुनेतर्फ पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए । नेता आलमले ५ वर्षभित्र पार्टीलाई पूरानै अवस्थामा फर्काउन पनि दलको नेता चयन सहमतिकै आधारमा गर्न उपयुक्त हुने सुझाव पनि पार्टी नेतृत्वलाई दिए ।

त्यसैगरी नेता तुलानारायण चौंधरीले जुन नेताको नाममा सहमति हुन्छ, उसैलाई दलको नेता चयन गर्नुपर्ने धारणा राखे । उनले पार्टी कमजोर भएको बेला नेताहरुले दलको नेताका लागि प्रतिस्पर्धा गर्न नमिल्ने तर्क गरे । काँग्रेस सांसद पुष्पा भुसालले सर्वसम्मतिमै संसदीय दलको नेता चयन गर्न प्रयास गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् । संसदमा प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउने गरी पार्टीलाई एकताबद्ध बनाउन पनि संसदीय दलको नेता सहमतिमा चयन गर्न उपयुक्त हुने उनको सुझाव थियो ।

काँग्रेस संसदीय दलको निर्वाचन सोमबार हुँदैछ । निर्वाचनका लागि सभापति देउवाको उम्मेदवारीलाई स्वभाविकै दावेदारको रुपमा हेरिएको छ भने पूर्व महामन्त्री सिंहले देउवा पूर्णता असफल भएको दाबी गर्दै आफूले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि पार्टीले निर्वाचनमा हार ब्यहोरेको बेला देउवाले संसदीय दलको नेतामा दाबी गर्न नहुने तर्क गर्दै आएका छ ।

प्रतिक्रिया दिनुहोस