घुम्तीकोषबाट महिलालाई सहुलियत

विहीबार, १७ फागुन २०७४, १६ : २८

बाबियाचौर, म्याग्दी । धौलागिरि गाउँपालिका मुनाकी पुष्पा मगरले बंगुरपालनका लागि स्थानीय धुवाङ सामुदायिक संस्थाबाट रु ७५ हजार ऋण लिनुभयो ।

गत जेठमा मासिक एक प्रतिशत ब्याजदरमा बिना धितो सामूहिक जमानीको आधारमा सामुदायिक संस्थाबाट लिएको ऋण एक वर्षभित्र नै तिरिसक्ने मगरको लक्ष्य छ । उहाँले सामुदायिक संस्थाबाट लिएको ऋण र स्वलगानी थपेर पाँचवटा बंगुर पाल्नुभएको छ ।

“एक वर्षभित्रै ऋण तिरेर बंगुरपालन विस्तार गर्ने सोच बनाएकी छु,” उहाँले भन्नुभयो ।

यस्तै, सोही ठाउँकी सीता पुनले उक्त सामुदायिक संस्थाबाट रु ३० हजार ऋण लिएर दुईवटा बाख्रा पाल्नुभएको छ । हाल पाठापाठीसहित उहाँसँग पाँचवटा बाख्रा छन् । आयआर्जनका लागि उद्यम व्यवसाय गर्ने योजना भए पनि लगानी नपाएर समस्यामा परेका मगर र पुनजस्तै ग्रामीण क्षेत्रका महिलाका लागि घुम्तीकोष बरदान बनेको छ ।

“दुई चार हजार रुपैयाँ आवश्यक पर्दा आफन्त र साहुकहाँ हात जोड्न जानुपर्ने अवस्थाको अन्त्य भएको छ,” पुनले भन्नुभयो “धितो राख्ने जग्गा जमिन आफ्नो नाममा नभएकाले बैंक र वित्तीय संस्थाको पहुँचदेखि टाढा रहेका हामी जस्ता महिलालाई ठूलो राहत मिलेको छ ।”

गरिबी निवारण कोषको सहयोगमा सामुदायिक संस्थाले स्थापना गरेको उक्त घुम्तीकोषमार्फत ग्रामीण क्षेत्रका विपन्न महिलाले ऋण लिएर तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैँसीपालन, बंगुरपालन र व्यापार व्यवसाय गर्दैआएका छन् । साझेदार गैरसरकारी संस्था ‘संगम’ र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) बागलुङद्वारा गठन भएका २०७ वटा सामुदायिक संस्थामार्फत गरिबी निवारण कोषको कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

आर्थिक वर्ष २०७३÷७४ सम्ममा १११ वटा संस्थाले एक हजार ३२४ घरधुरीलाई रु चार करोड पाँच लाखको घुम्ती कोष परिचालन गरेका छन् भने २६ सामुदायिक संस्थामार्फत रु ६० लाख लगानीको प्रक्रियामा रहेको छ । संगम म्याग्दीमार्फत रघुगंगा गाउँपालिकाको पिप्ले, पाखापानी, चिमखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, दाना, हिस्तान, घार, मंगलाको बरंजा, मालिकाको दरवाङ र निस्कोटमा गठन भएका ९५ वटा सामुदायिक संस्थामा दुई हजार ५९९ घरधुरी आबद्ध भएकामा ६८ वटा सामुदायिक संस्थामा आबद्ध ८२२ सदस्यलाई रु दुई करोड १७ लाख ५८ हजार घुम्तीकोषको रुपमा लगानी भएको छ ।

धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत मालिका गाउँपालिकाको देवीस्थान, रुम, ओखरबोट, धौलागिरि गाउँपालिकाको ताकम, मुना, लुलाङ, मुदी, मराङ, मल्कवाङ र रघुगंगाको कुइनेमंगलेमा गठन भएका ९५ वटा सामुदायिक संस्थामा दुई हजार ५७३ घरधुरी आबद्ध छन् भने ४३ वटा सामुदायिक संस्थामा आबद्ध ५०२ घरधुरीको आयआर्जनको लागि रु एक करोड ८७ लाख ४६ हजार घुम्तीकोष परिचालन भएको कार्यक्रम संयोजक पवन श्रीवास्तवले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस