उपत्यकाबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने ३ युवतीसहित १६७ पक्राउ, ५६८ सवारीसाधन नियन्त्रणमा

विहीबार, १७ फागुन २०७४, १५ : ४५
उपत्यकाबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने ३  युवतीसहित  १६७ पक्राउ, ५६८ सवारीसाधन नियन्त्रणमा

काठमाडौं । होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने १६७ जनालाई प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । ईच्छाविपरीत लोला हान्ने, एउटै मोटरसाईकलमा तीनजना चढेर हिँड्ने, हेलमेट नलगाईकन हिँड्ने जस्ता गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार ठमेल क्षेत्रबाट १० जना, महारागञ्जबाट ९ जना, बौद्धबाट १० जना, गौशाला एरियाबाट ८ जना, बानेश्वरबाट २२ जना, कालिमाटीबाट ४० जना, कीर्तिपुरबाट ४ जना र थानकोटबाट २४ जना पक्राउ परेका छन् । काठमाडौंबाट पक्राउ परेका कुल १४१ मध्ये ३ जना महिला रहेको बताइएको छ ।

यसैगरी भक्तपुरबाट ९ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी किरण राणाले जानकारी दिइन् । ललितपुरबाट १७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) नरेन्द्र चन्दका अनुसार सवारी नियम उल्लंघन गर्ने ९६ ओटा मोटरसाइकललाई कारबाहीको दायरामा ल्याइएको छ ।

५६८ मोटरसाईकल कारबाहीमा
होलीको अवसरमा नियमविपरित चलाइएका ५६८ मोटरसाईकललाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएको छ । सातदोबाटो क्षेत्रबाट तीनजना हिँड्ने र  हेल्मेट नलागाई चलाउने १८८ मोटरसाईकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीका इन्सपेक्टर सिताराम हाछेथुले जानकारी दिएका छन् । उनका अनुसार ललितपुरमा १३ मोटरसाईकल मापसेमा पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी मुकुन्द मरासिनीका अनुसार बिहीबार ३ बजेसम्ममा ५६८ ओटा मोटरसाईकल कारवाहीको दायरामा आएका छन् । जसमध्ये २० ओटा मोटरसाईकल मापसेमा पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस