शितल निवासमा माधव नेपालसँग राष्ट्रपतिले के भनिन् ?

राष्ट्रपति विद्या भण्डारीले शनिबार नेकपा नेता माधव नेपाललाई आफैंले बोलाएर दुई घण्टा छलफल गरेकी थिइन्

सफल खबर संवाददाता

सोमबार, २९ असार २०७७, ०९ : ०४
शितल निवासमा माधव नेपालसँग राष्ट्रपतिले के भनिन् ?

काठमाडौं । शुक्रबार दिउँसो नै नेकपाका वरिष्ठ नेता माधव नेपाललाई राष्ट्रपति कार्यालय शितल निवासबाट फोन गयो । (माधव कमरेड राष्ट्रपति महोदयले एकपटक हजुरसँग भेट गर्न खोज्नुभएको छ । शनिबार दिउँसो २ बजे राष्ट्रपति कार्यलय आउनुहोला ।

एक साता अगाडी मात्रै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र नेपालले सामुहिक रुपमा राष्ट्रपति भण्डारीसँग भेट वार्ता गरेकै थिए । प्रधानमन्त्री ओलीले आफुलाई मात्रै होइन, सम्माननिय राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने गरी षडयन्त्र हुदै गरेको भन्दै आफ्नै मन्त्रिमण्डलका सदस्यलाई बालुवाटार बोलाएर पार्टी विवादमा कित्ता छुटटाउन निर्देशन दिएका थिए । राष्ट्रपति जस्तो सम्मानित संस्थालाई समेत प्रधानमन्त्रीले पार्टीभित्रको विवादमा आफैं तान्न खोजेको र अनावश्यक गलत सूचना राष्ट्रपतिसम्म पुरयाएपछि प्रचण्ड, नेपाल र खनाल राष्ट्रपतिलाई भेट्न एक साता अगाडी मात्रै शितल निवास पुगेका थिए  । तर फेरि राष्ट्रपतिले माधव नेपाललाई किन आफैले फोन गर्न लगाई बोलाएर छलफल गर्न चाहिन् ? 

वरिष्ठ नेता नेपालको निवासमा चर्चा नै चल्यो । त्यसपछि राष्ट्रपतिले बोलाएको समय अर्थात शनिबार दिउँसो २ बजे नेता नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगे । नेपालले त्यहाँ राष्ट्रपतिसँग झण्डै सवा ४ बजेसम्म भेटवार्ता गरे । माधव नेपालसँग राष्ट्रपतिले के छलफल गरिन् ? र नेपालले राष्ट्रपतिलाई के भने ? अहिलेसम्म छलफलका विषय स्यवं नेपालले नै खोलेका त छैनन् । तर नेपाल निकट एक स्थायी समिति सदस्यका अनुसार, नेता नेपाललाई राष्ट्रपतिले नेकपाको पार्टी विवादमै केन्द्रीत रहेर छलफल गरेकी थिइन् । 

प्रधानमन्त्री ओलीसँग पानी बराबरको अवस्थामा रहेको र सम्बन्धहरु समधुर बन्नै नसकेको अवस्थालाई मध्यनजर गर्दै राष्ट्रपतिले नेपाललाई शितल निवासमा बोलाएर नेपालसँग छलफल गरेकी ति नेताले बताए । प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा सम्बन्ध खास राम्रो छैन् । पार्टीभित्रको विवादमा नेता नेपालको अहंम भूमिका रहेको र नेता नेपालले आफुलाई अप्ठयारो मात्र पार्ने काम गरेको बुझाईमा प्रधानमन्त्री ओली छन् । जसकाकारण यी दुई नेताको इगो राजनीति चलिरहेको छ । त्यही कारण हुन सक्छ, प्रधानमन्त्री ओलीले पनि बेला बेला अर्का अध्यक्ष प्रचण्डलाई समेत तपाई म पट्टी कि माधव नेपाल पट्टी भन्दै कित्ता छुटटाउन आग्रह गदै आएका छन् ।

तर शनिबारको दुई घण्टा लामो सम्वादमा राष्ट्रपति भण्डारीले नेपाललाई ओलीसँग मिलेरै अगाडी जान आग्रह गरेको नेपाल निकट नेता भन्छन् । पूर्व एमाले धारका नेताहरुका बीचमा अविश्वास पैदा हुदाँ जनताको बहुदलीय जनवाद पक्षधरहरुको एकतामा दरार पैदा हुने र त्यसमा पार्टीभित्रका अर्काे पक्षले खेल्न सक्नेमा सचेत रहन राष्ट्रपति भण्डारीले नेता नेपालसँग आग्रह गरेकी थिइन् । भण्डारीले नेपालसँग एक्लै शितल निवासमा वोलाएर गरेको उक्त छलफल पूर्व एमाले धारका नेताहरुका बीचको एकतामा जोड दिने सन्देश सहितको भएको नेपाल निकट ति स्थायी समिति सदस्यले बताए । 

नेता नेपालको राष्ट्रपतिसँगको भेट सकेपछि महासचिव विष्णु पौडेलसँग भेट भएको थियो । बानेश्वरस्थित सम्धी सोमप्रसाद पाण्डेको निवासमा पौडेलले नेपालसँग झण्डै चार घण्टा छलफल गरेका थिए । नेता नेपालले आइतबार भने नेताहरु सुरेन्द्र पाण्डे लगायतका नेताहरुसँग पार्टीभित्रको विवाद समाधानमा हुन खोजेको प्रयासका विषयमा केन्द्रीत रहेर छलफल गरेका थिए । 

झलनाथ वामदेव सम्वाद

पार्टीमा उत्र्कषमा पुग्दै गरेको विवाद एकाएक मथ्थर जस्तै हुन पुगेपछि पार्टीका शीर्ष नेताहरुमा नै शंका आशंका जन्माईदिएको छ । दुई अध्यक्षका बीचमा कसरी विवाद समाधान उन्मुख छलफल भयो ? बैठक तारान्तर किन सरिरहेको छ ? कतै दुई अध्यक्षका बीचमा चोचोमोचो मात्र मिलाउने प्रयास मात्र भयो की ? भन्ने विषयमा समिक्षा गर्न खनाल र गौतमले आइतबार छलफल गरेको नेकपा स्रोतले जनाएको छ ।

गौतम निवास भैसेंपाटीमा खनाल र गौतमका बीचमा छलफल भएको हो ।  पार्टीका अर्का अध्यक्ष प्रचण्ड तिन दिन यता गृहजिल्ला चितवनमा रहेका कारण पनि राजनीतिक गतिविधि ठप्प भईरहेका बेला खनाल र गौतम छलफलमा बसेका हुन् । 


 

प्रतिक्रिया दिनुहोस