चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकोपको सामना एकजुट भएर गर्नुपर्ने बताउनु भएको छ । जिल्ला बिपद व्यवस्थापन समिति चितवनको बैठकलाई आइतबार सम्बोधन गर्नुहुँदै उहाँले कोरोना र प्रकोप बिरुद्धको संघर्ष कमजोर हुन नहुने बताउनुभयो ।
अहिले बाढी, पहिरोको उच्चजोखिम भएको भन्दै उहाँले नेकपाले आफ्नो बैठक एक साताका लागि स्थगित गरेर जनताको माझमा आफूहरु आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढी पहिरोको उच्च जोखिममा छ । यस्तो बेलामा पार्टीका राजनैतिक गतिविधि र अन्य विवादले यो एकता कमजोर नहोस् ।”
पार्टीको बैठकभन्दा जनतासँग जाने कुरा मुख्य हो भनेर आफूहरुले बैठक रोकेको बताउनुभयो । कोरोना र बिपद विरुद्धको संघर्षमा एकता नै मुख्य कुरा भएको उहाँको भनाई थियो । दाहालले भन्नुभयो “एकतालाई कमजोर पार्ने काम कहि कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।” पार्टी एकताको पक्षमा उठेका बिषयमा भईरहेको पहललाई सकारात्मक रुपमा लिदैं उहाँले भन्नुभयो “यसमा पनि तपाईहरुको पहल भैराखेको छ । त्यसका लागि धन्यवाद ।” आगामी दिनमा अझै दृढताका साथ एकतावद्ध भएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।
कोरोना क्षयरोग जस्तै लामो समय रहन सक्ने भन्दै उहाँले कोरोनासंगै हिँड्न र बाँच्न सिक्नु पर्ने बताउनुभयो । दुई चार दिन ढिलो, छिटो खोप पत्ता लाग्ने भन्दै उहाँले भन्नुभयो “त्यसको उपचार पनि आउँछ । सन्चो पनि हुन्छ । अहिले पनि सन्चो भईराखेकै छ । उच्च मनोवल भएपछि रोगसंग लड्न सकिन्छ ।”
सतर्कता अपनाउन र उच्च मनोवलका साथ एकतावद्ध भएर रोगका बिरुद्ध लड्न उहाँले सुझाब दिनुभयो । यस रोग बिरुद्ध सबै राजनैतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकतावद्ध हुनुपर्ने दाहालको भनाई थियो । उहाँले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटवन्ध सहितको रिङ्गरोड निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदन वनेर अर्थमन्त्रालयमा बजेटका लागि पेस भएको बताउनुभयो । यस संगै यस क्षेत्रको बिकासमा नयाँ आयाम आउने उहाँको भनाई थियो । दाहालले भन्नुभयो “यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको सम्बृद्धिको आधार बन्छ ।”
बर्षातको समयमा नभएर समयमानै बिपद व्यवस्थापनको तयारी र बिकास निर्माणको काम गर्नु पर्नेमा दाहालको जोड थियो । उहाँले जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु घनश्याम दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार, भरतपुर महानगर प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष कृष्ण डल्लाकोटी, सरोकारवाला कार्यालयका प्रमुखहरु, सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो क्षेत्रको गतिबिधि र धारणा राख्नु भएको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लाको समग्र बिपद व्यवस्थापनको पूर्ब तयारी र अहिलेको अबस्थाको बारेमा जानकारी गराउनु भएको थियो । चितवन क्षेत्र नम्बर तीनका निर्वाचित सांसद समेत रहनु भएका दाहाल उपस्थित भएको बेला पारेर बिपदको बैठक राखिएको हो । दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षतिपछि निरीक्षणका लागि गृहजिल्ला आउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०७७, १२ : ३४
लेखकबाट थप