– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । चैत ११ गतेदेखि जारी लकडाउनले गर्दा मौरीपालक किसानहरु पनि मारमा परेका छन् । चितवनका धेरैजसो मौरीपालक किसान लकडाउन हुनु अगाडि जिल्लाबाहिर रहेका चरनक्षेत्रमा मौरीलाई छोडेर घर फर्किएका थिए । उनीहरु मध्ये धेरै किसान चैत १५ पछिमात्र मह काढ्न जाने योजनामा थिए । तर लकडाउनले घरभित्रै थन्किनुपर्दा समयमै मह काढ्न पाएनन् । जसले गर्दा चैतबैशाखको सिजनमा हुने मह उत्पादनमा करिव ५० प्रतिशतले कमी आएको नेपाल मौरीपालक महासंघ चितवन शाखाका अध्यक्ष रोशन पण्डितले जानकारी दिए ।
केही किसान लकडाउन अघि नै चरनक्षेत्रमा पुगेको भएपनि खानबस्नको समस्या हुँदा दुःख पाएका थिए । त्यस्तै कतिपयले मौरी चराउन लगिसकेका थिएनन् । लकडाउनले गर्दा फूल फुल्ने ठाउँमा लान नसकेपछि जिल्लाभित्रै रहेका मौरीबाट पनि कम मह उत्पादन भएको उनी बताउँछन् ।
चैतबैशाख भनेको मह काढ्नुका साथै अत्याधिक मात्रामा गोला वृद्धि हुने समय हो । प्रायः घारहरूमा नयाँ रानीमौरी जन्मने समय भनेको यही हो । एउटा घारमा रहेका दुईवटा रानीमौरीमध्ये एकलाई छुट्याएर अलग्गै घारमा राख्नुपर्छ । मौरीको घार वृद्धि गर्ने प्रमुख उपाय पनि यही हो । जसका लागि बेलाबेलामा मौरीको घारको रेखदेख गरिरहनु पर्छ । तर मौरी भएको ठाउँसम्म पुग्न नपाउँदा किसानले मौरीको घारमा पनि वृद्धि गर्न नसकेको पण्डितले बताए ।
‘गृहमन्त्रालयले बेलैमा सोचेर मौरीपालक किसानलाई पास दिन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको भए यसवर्ष मह उत्पादन र घार वृद्धि गतवर्षभन्दा बढी हुन्थ्यो । किनकी मौसमले साथ दिएको थियो’ उनले भने । गृहमन्त्रालयले मौरीपालकहरुको माग र पीडालाई वेवास्ता गर्दा आज आफूहरुले घाटा व्यहोर्नुपरेको पण्डित बताउँछन् ।
धेरै हारगुहार गरेपछि अन्तिम अवस्थामा आएर मौरी घरमा ल्याउनका लागि मात्र भनेर किसानले पास पाए । अहिले मौरीलाई घरमा ल्याएर कृत्रिम आहार खुवाएर बसेका छन्, अधिकांश किसान ।
धेरै समयपछि पुग्दा ढिलो भइसकेकाले किसानले सोचेजति मह काढ्न र घार वृद्धि गर्न सकेनन् । कुनै किसानको त गोलाबाट मौरी नै भागेका थिए भने केहीले थोरै संख्यामा मात्र घार बढाउन सकेका अध्यक्ष पण्डितले बताए । मह उत्पादनमा कमी आउँदा र घार संख्यामा वृद्धि गर्न नसक्दा धेरै किसानहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको पण्डितको भनाइ छ ।
१५० घार मौरी पालेका पण्डितले पनि दुई ठाउँमा चराउन लगेका थिए । समयमा जान नपाउँदा आफूलाई पनि दुबैतिर घाटा भएको उनले बताए ।
जिल्लामा चरनक्षेत्र पर्याप्त नभएकाले चितवनबाट कपिलवस्तु, नवलपरासी, नवलपुर, महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर लगायतका जिल्लामा फूल फुल्ने सिजनमा मौरी चराउनका लागि लगिन्छ ।
मकवानपुरको सुनाचुरीमा ७२ वटा मौरीको घारलाई लगेर राखेका खैरहनी– ४ का रामचन्द्र अधिकारीले लकडाउनका कारण रेखदेख गर्न जान नपाउँदा गोला फुटेर कति मौरी भाग्ने र कति मर्ने गर्दा अहिले ३५ वटा घारमात्र रहेको बताए । ‘बैशाख २० गते पुग्दा ३५ वटा घारमा मात्र मौरी रहेछन् । अरु सबै भागेछन् । बेलैमा जान नपाउँदा मह काढ्न तर परै जाओस भएको मौरी नि रहेन्’ उनले दुखेसो पोखे ।
अधिकारीका अनुसार सुनाचुरीमा चराउन लगेका प्राय सबै किसानको हालत यस्तै भएको छ । उनले नोक्सानी व्यवहोरेका किसानहरुको पहिचान गरी राहतको व्यवस्था मिलाउन माग गरेका छन् ।
चितवन जिल्लामा १५ हजारको हाराहारीमा मौरीका घार रहेका छन् । जसबाट बर्षेनी करिव ६०० मेट्रिक टन मह उत्पान हुँदै आएको छ । चितवन व्यवसायिक मौरी पालनको अग्रेणी जिल्ला हो । २०५२ सालबाट चितवनबाट नै नेपालमा व्यावसायिक मौरी पालनको सुरुवात भएको थियो । अरु खेती गर्दे मौरीपालन गर्न सकिने र आम्दानी पनि राम्रो हुने भएकाले मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
हिरालाल आचार्य ‘डायमण्ड’
सोमबार, २६ जेठ २०७७, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मह नबिक्दा किसानको मनै ‘अमिलो’ !
मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो
काठमाडौंमा आजदेखि मह मेला
मह खाने प्रतियोगिता
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो