नर्भिक अस्पतालको लापरबाहीः देब्रे घुँडा शल्यक्रिया गर्नुपर्ने दाहिनेमा पो चिरिदिए !

आइतबार, १३ फागुन २०७४, ०६ : ५१
नर्भिक अस्पतालको लापरबाहीः देब्रे घुँडा शल्यक्रिया गर्नुपर्ने दाहिनेमा पो चिरिदिए !

थापाथलिस्थित नर्भिक अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको पाइएको छ ।

अस्पतालले देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने एक बिरामीको दाहिने खुट्टा चिरिदिएको छ ।

स्कुटी थन्काउँदा चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण शुक्रबार अस्पताल भर्ना भएकी बिन्दु पौडेलको उपचारमा अस्पतालले लापरबाही गरेको हो ।

चितवनकी ३८ वर्षीया पौडेलको उपचारका अस्पतालकै डा प्रवीण नेपाल र शैलेज रञ्जितकार संलग्न थिए ।

‘खुट्टा सामान्य दुखेको थियो, उनी हिँडेरै अस्पताल आएकी थिइन्, डाक्टरले शल्यक्रिया गर्नैपर्छ भने’ बिरामीका श्रीमान् किशोर पौडेलले भने ।

चार घण्टा लगाएर गरिएको शल्यक्रियापश्चात् निकैबेर डाक्टर टिमले बिरामी भेट्न नदिएको उनका आफन्तले सुनाए ।

‘ म अपरेशन थिएटरको ढोकामै थिएँ, भित्रबाट बुहारीले आफन्त बोलाइदिनु भन्दै रोएको सुनेपछि म जबरजस्ती भित्र पसेँ ’ आफन्त सम्झना पौडेलले भनिन् । भित्र छिर्दा दाहिने खुट्टा शल्यक्रिया भएको देखिएको उनले बताइन् । शल्यक्रियाका कारण हुने घाउ दाहिनेमा देखिरहँदा पनि डाक्टर टिमले गल्ती स्वीकारेको थिएन ।‘

समस्या दाहिने घुँडामा नै रहेछ भन्दै हामीलाई झुटो बोलिरहे, कानुनी प्रक्रियामा जान्छौं भनेपछि मात्रै साँचो कुरा बताए’ श्रीमान् पौडेलले भने । शनिबार दिनभरि अस्पताल तनावमय रह्यो ।

अस्पताल प्रशासन र बिरामी पक्षबीच वार्ता चल्यो ।

वार्तापछि अस्पतालले उपचारका क्रममा भएको आफ्नो गल्ती स्वीकारेको छ । ’डाक्टर टिमकै गल्ती देखियो, गल्ती जानाजान भएको होइन, भुलबस् भयो ।’ अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंहले भने ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस