काठमाडौँ । लकडाउन जारी भएयता लाखौं मानिसले काठमाडौं उपत्यका छाडिसकेका छन् । उपत्यकाका रैथाने नेवार समुदाय भने शान्त तलाउझैं लकडाउनको दिनगन्ती गरिरहेका छन् । विज्ञका अनुसार राजधानीको सबैभन्दा बाक्लो र पुराना सहरको आवासीय संरचना वास्तुमैत्री भएकाले यी समुदाय संयम छन् ।
यत्तिका बाक्लो बस्तीका मान्छेमा उकुसमुकुस हुँदैन ? इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, बाहिरबाट झट्ट हेर्दा सहरी जनजीवन उकुसमुकुस देखिनु स्वाभाविकै हो, तर काठमाडौं उपत्यकामा जहाँ नेवार जातिको परम्परागत बस्ती छ, त्यहाँको घरको वास्तुकलाले जनजीवन घरआँगनभित्रै रहन मद्दत गरेको छ । उनीहरूलाई लकडाउन हुनु र नहुनुमा उस्तै हुन्छ ।’
उपत्यकामा नेवार जातिको परम्परागत बस्तीका घर एकापसमा जोडिएका छन् । बाहिरबाट लहरै जोडिएको देखिए पनि भित्र भने घरैघरको माझमा खुल्ला ठाउँ राखिएका छन् । चोक र बहालहरू छन् । कतिपय घरका पछाडि साना बगैंचा पनि छन् । मौसमअनुसार कृषकहरूले ती बहालमा धान सुकाउने गर्छन् । सामूहिक भोज चलाउँछन् । समाजमा ‘३६५ दिनमा नेवारको ३६६ जात्रा र पर्व’ भन्ने पनि गरिन्छ । सार्वजनिक ठाउँमा डबली छन् । ती डबलीमा सुस्ताउने, रात्रिकालीन नाचगान र नाटक प्रदर्शन हुने गर्छन् ।
लकडाउनको बेला ऐतिहासिक तथा पुरातात्विक सहरका नागरिकहरू यिनै चोक, बहाल, सत्तलहरू आसपासमा समय व्यतित गर्ने गरेका छन् । अहिले भोज, जात्रा सबै बन्द छन् । इतिहासविद् श्रेष्ठका अनुसार १८औं शताब्दी अर्थात् नेपाल संवत् ७३६ मा नेपालमा ठूलो महामारी आएको थियो । काठमाडौं केन्द्रविन्दु रहेको त्यो महामारी ७ वर्षसम्म चल्यो । ‘त्यो महामारीले धेरै मान्छे मरेका थिए,’ उनी भन्छन्, ‘तत्कालीन राजा भास्कर मल्ल अहिलेको हनुमानढोका तिनढोलमा अहिलेजस्तै सेल्फ क्वारेन्टाइन (आफैं घरबास) मा बसेका थिए । आत्मबल थाम्नै सकेनन् । अन्तमा दरबारमा आए र महामारीको चपेटामा परेर उनी मरे । त्यसले महामारीको बेला एकान्तवास कति महत्वपूर्ण रहेछ भन्ने देखाउँछ ।’
त्यसैगरी भक्तपुरका राजा जगतप्रकाश मल्ललाई ३४ वर्षको उमेरमा बिफर रोग लागेको थियो । त्यो रोग अरुलाई नसरोस् भनेर सत्तलमा राखिएको इतिहासविद् श्रेष्ठ उल्लेख गर्छन् । महामारीको बेला बाहिर निस्किनुहुन्न भन्ने देखिन्छ । उतिखेर लामो समय चारधाम जाँदा मान्छेले आफ्नो जन्मकुण्डली चिना लिएर जान्थे । त्यो मान्छे फर्केर आउँदा बाँचेर आएकोमा हर्षोल्लास मनाउँथे । त्यसरी फर्केकालाई तत्कालै घर पस्न दिँदैनथे । सहरबाहिरै स्वागत गरेर सत्तलमा राख्ने गरिएको श्रेष्ठ बताउँछन् । संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार बुद्धिस्ट नेवार समुदायको घरको बनोट नै विशेष प्रकारको हुन्छ ।
‘परम्परागत घरको भुइँतलामा सामान राख्ने गोदाम, दोस्रो तलामा पाहुना राख्ने, तेस्रो तलामा परिवार सुत्ने, चौथो तलामा भान्सा तथा खाना खाने र पाचौं तलामा देवताको पूजाथान रहन्छ,’ काठमाडौंकै स्थानीय बज्राचार्यले भनिन्, ‘बाहिरबाट आउने मानिस जो कोही घरभित्र प्रवेश गर्नुअघि चोखो पानीले हातगोडा धुनुपर्ने परम्परा छ । हरेक दिन चोक र बहाल सफा गरिन्छ ।’
नेवार समुदायमा एउटै घरमा संयुक्त परिवार रहने परम्परा छ । केही वर्षदेखि एकल परिवार तथा एउटा घरको तलामा बस्ने चलन आएको छ । त्यसैगरी घर भाडामा दिने चलन बढेको बज्राचार्य बताउँछिन् । ‘महामारी आए पनि अक्षता छर्ने, सफासुग्घर भएर बस्ने चलन कायम छ,’ उनले भनिन्, ‘बाहिर कोही पनि जथाभावी निस्किएका छैनन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस