तनहुँ । व्यास नगरपालिका–१ गल्बुबेँसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बन्नुभएको छ । गाउँघरमै बसेर पशुपालन, तरकारी खेती, माछापालन, मौरीपालनलगायत कार्य गरेर घर परिवारका साथमा बसेर राम्रै पैसा कमाउन सकिने उहाँ बताउनुहुन्छ । शुरुमा वनबाट खोजेर ल्याएका दुई तीन मुढे घारबाट शुरु गर्नुभएका मिश्र अहिले व्यावसायिकरुपमै लाग्नुभएको छ ।
उहाँले विसं २०७४/७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यावसायिकरुपमा मौरीपालन कार्य थाल्नुभएको हो । कृषक मिश्रले सेराना जातका करिब ६० मौरीका घार राखेर वार्षिक न्यूनतम रु पाँच÷छ लाख सजिलै कमाउन सकिने बताउनुभयो । विसं २०७१ देखि मौरी व्यवसायमा लाग्नुभएका उहाँले भन्नुभयो, “यो पाँच वर्षको अवधिमा तीन वर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसके पनि दुई वर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।”
उहाँले भन्नुभयो, “शुरुमा १७ वटासम्म मौरी घार राख्दा पनि मौरी बसेनन्, तर पनि कत्ति पनि बिचल्ली भइँ, निरन्तर लागिरहेँ ।” एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करिब रु ६ लाख खर्च गरेर व्यवस्थितरुपमा मौरीपालन गरिएको छ । मौरी पाल्नुभन्दा अघि ट्र्याक्टर, बस र इँटा उद्योगसमेत सञ्चालन गर्दै आए पनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरीपालनमा रमाउन थालेको कृषक मिश्रले बताउनुभयो ।
मह प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । मह बिक्रीका लागि बोकेर अन्यत्र लैजानु नपर्ने बताउँदै उहाँले भन्नुभयो, “घरमै मह लिन मानिस आउने गर्छन्, मागअनुरुप पु¥याउनसमेत सकिएको छैन ।” घारसहितको मौरी प्रतिघार रु आठ हजारमा बिक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै रु पाँच हजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
स्थानीय तथा प्रदेश सरकारले तालीम तथा औजार प्रदान गरेमा मौरीबाट विष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उहाँको भनाइ छ । मौरीबाट विष उत्पादन गर्न सके प्रतिकिलो रु ३० लाखसम्म बिक्री गर्न सकिने उहाँले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ जेठ २०७७, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’
घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा
मौरी जोनले चितवनका कृषक उत्साहित
भीर मौरीको टोकाइबाट विद्यार्थी र शिक्षक घाइते