वीरगन्ज । पटक-पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी थरका ती वृद्धलाई दम र निमोनियाको समस्या देखिएपछि जेठ २ गते मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा राख्नुअघि कोरोनाको आशंकामा ती वृद्धको स्वाब मेडिकल कलेजले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।
तर स्वाबको रिपोर्ट आउनुअघि नै जेठ ४ गते उपचारका क्रममा उनको मृत्यु भयो । मेडिकल कलेजले पनि पीसीआर रिपोर्ट नआउँदै जेठ ४ गते नै शव परिवारजनको जिम्मा लगाएर पठाएपछि आफन्तले गाउँ लगेर त्यही दिन अन्तिम दाहसंस्कार गरेका थिए ।
वृद्धको अन्त्येष्टि ७ दिन पहिले नै भइसके पनि नारायणी अस्पतालको प्रयोगशालाबाट कन्फर्मेसनका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट सोमबार बिहान मात्रै आएको र रिपोर्ट पोजेटिभ रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए । ‘मेडिकल कलेजबाट जेठ २ प्राप्त स्वाबको नारायणीमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएपछि रिर्पोट डिस्पोज गरेनौं, रिकन्फर्मेसनका लागि जेठ ७ मा काठमाडौंमा पठायौं’, उनले भने, ‘काठमाडौंको ल्याबमा पनि लगातार २ पटकसम्म पोजेटिभ आएपछि मात्रै सोमबार बिहान रिपोर्ट सार्वजनिक गरेका हौं ।’
नेशनल मेडिकल कलेजका सञ्चालक एवं प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मृतकको रिपोर्ट आउन ढिलाइ भएपछि शवलाई आफन्तको जिम्मा लगाएर पठाएको बताए । उनले भने, ‘मृतकको शव अस्पतालमा धेरै दिन राख्दा समस्या आउन सक्थ्यो त्यसैले रिपोर्ट कुर्दा नआएपछि शव पठाएका थियौं ।’ शव पठाएपछि मेडिकल कलेजले जेठ ९ गते आईसीयू वार्ड फ्युमिगेसन गर्नु पर्ने भन्दै ३ दिनसम्म आईसीयूमा नयाँ बिरामी भर्ना नगर्ने सूचना पनि जारी गरेको थियो । आईसीयू वार्डमा ती मृतक वृद्धको मृत्यु भएपछि त्यहाँ भर्ना भएका करिब २० जना बिरामीलाई मेडिकल कलेजले आईसीयूबाट झिकेर कलेजकै अन्य वार्डमा स्थानान्तरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १३ जेठ २०७७, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति