काठमाडौं l सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन् । आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छ ।
अध्यागमन विभागले समलिंगी विवाह गरेकी कञ्चनपुर घर भई भक्तपुर अनन्तलिंगेश्वर बस्ने सुमन पन्त र अमेरिकी युवती लेस्ली लुइक मेल्निकलाई शुक्रबार ६ महिनाको गैरपर्यटकीय भिसा दिएको हो ।
भिसा लिन दुवै जना शुक्रबार अपराह्न अध्यागमन विभाग पुगेका थिए । सुमन र अमेरिकी नागरिक लुइकले २०१५ डिसेम्बर १८ मा अमेरिकाको क्यालिफोर्नियामा ‘कोर्ट म्यारिज’ गरेका थिए ।
अध्यागमनले भिसा दरखास्त फारममा पति वा पत्नी उल्लेख भएकाले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेको थियो । त्यसपछि उनीहरू न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका थिए ।
लेस्लीले नेपालमा सुमनसँगै बस्न गैरपर्यटकीय अन्तर्गतको म्यारिज भिसाका लागि सन् २०१६ डिसेम्बर २९ अध्यागमन विभागमा निवेदन दिएकी थिइन् । भिसा लिने प्रक्रियामा गरिने सनाखतमा पति÷पत्नी शब्द प्रयोग नगरी अंग्रेजी भाषमा ‘स्पाउस’ शब्द प्रयोग गरिएको छ। सर्वोच्चको आदेशबमोजिम नै उनीहरूले भिसा पाएका हुन् ।
अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले गत कात्तिकको सर्वोच्चको आदेशबमोजिम पन्त र मेल्निकीलाई भिसा दिइएको बताए। निर्देशक निरौलाले अन्नपूर्णसँग भने, ‘उनीहरूलाई पहिलो पटकलाई ६ महिनाको भिसा दिएका छौं ।’
उनीहरूले भिसाका लागि अमेरिकामा दर्ता भएको विवाह प्रमाणपत्र, नेपालस्थित अमेरिकी दूतावासले दिएको प्रमाणपत्रलगायत कागजात पेस गरेका थिए। भिसा पाइसकेपछि उनीहरू निकै हर्षित मुद्रामा देखिन्थे ।
प्रतिक्रिया दिनुहोस