‘कला बेचेको हो, स्वाभिमान होइन’

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ जेठ २०७७, ०७ : ३४
‘कला बेचेको हो, स्वाभिमान होइन’

काठमाडौं । नेपालले आफ्नो देशको नक्सा जारी गरेपछि अभिनेत्री मनीषा कोइरालाले व्यक्त गरेको प्रतिक्रियाले अहिले राष्ट्रियताको बहस तातेको छ । त्यसमा पनि मनीषाको प्रतिक्रियापछि भारतीय सञ्चार माध्यम निम्छरो र तल्लो स्तरको गालीगलौजमा उत्रेपछि उनको समर्थनमा सर्वसाधारणदेखि सर्जक कलाकारहरू खुलेर अगाडि आएका छन् ।

‘कला बेचेको हो, स्वाभिमान होइन’, मनीषाकै पदचापमा प्रतिक्रियाको सागर उर्लेको छ । ‘पेसा फेर्न सकिन्छ तर स्वाभिमान फेर्न र बेच्न सकिन्नँ’ उनको समर्थनमा ताली बजिरहेको छ ।
कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्विट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् । उनले ट्विटमा लेखेकी छन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीनवटै राष्ट्रहरूबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतीक्षामा छौं ।’

चीनलाई साथ दिएर भारतलाई गाली गरेको भन्दै मनीषामाथि भारतीय मिडिया खनिएका छन् । भारतीय एबीपी टेलिभिजनले ‘खाती भारतकी और गाती चीनकी’ भन्दै समाचार प्रसारण गरेको थियो । ‘मनीषाले जे जति नाम कमाएकी छन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्’, टेलिभिजन भन्छ । तर मनीषाले व्यक्त गरेको धारणले वास्तवमै तरंग ल्याएको छ ।

नेपालमा उनको समर्थनका सामग्री ट्रेन्डिङमा छन् । सामाजिक सञ्जाल ट्विटरको ट्रेन्डिङमा उनी लगातार एक नम्बरमा छिन् । ह्यास ट्याग ‘आई एम विथ मनीषा कोइराला’ ट्रेन्डिङ नम्बर एकमा छ ।

नायिका पूजा शर्माको अभिव्यक्ति छ, ‘मनीषा दिदीले भारतको नुन भिख मागेर खानु भएको होइन, आफ्नो कलाकारितामा उभिएर खानु भएको हो । दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टिठ लागेर आयो ।’ शर्माले कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसे पनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छन्, ‘जन्मदिने आमालाई पराइ ठानेर आफ्नै आमाको अंग लुछ्ने पराइलाई आमा भन्न सकिँदैन ।’ अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस