काठमाडौँ । संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’बाट अभिनेत्री मनीषा कोइराला यतिबेला चर्चामा छिन् । सिरिजमा उनले मल्लिका जानको चरित्र निर्वाह गरेकी छन् । स्ट्रिमिङ सुरु भएयता यसको विश्वव्यापी चर्चा छ ।
अभिनेत्री कोइराला यतिबेला लन्डनमा छिन् । मंगलबार उनको भेट बेलायती प्रधानमन्त्री ऋषि सुनाकसँग भएको छ । नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धको १०० औँ वर्षगाँठ मनाउन बेलायती प्रधानमन्त्रीको लन्डन कार्यालय टेन डाउनिङ स्ट्रिटमा सुनाकले समारोह आयोजना गरेका थिए ।
जहाँ, नेपाली राजदूत ज्ञानचन्द्र आचार्यदेखि बेलायतस्थित नेपाली डायस्पोराको उपस्थिति थियो । अतिथि बनेर मनीषा पनि टेन डाउनिङ स्ट्रिट पुगेकी थिइन् । प्राप्त तस्बिरमा प्रधानमन्त्री सुनाक र मनीषालाई क्याजुअलरुपमा गफगाफ गरेको देख्न सकिन्छ ।
मनीषा स्वयमले इन्स्टाग्रामबाट सुनाकसँगको भेटका तस्बिर र भेटमा भएको गफगाफबारेका कुरा पोस्ट गरेकी छन् । प्रधानमन्त्री सुनाकबारे नेपालबारे सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाई छ ।
अनौपचारिक संवादमा प्रधानमन्त्री सुनाकबाट आफूले सगरमाथा आधार शिविरमा पदयात्राका लागि निम्तो गरेको समेत मनीषाले उल्लेख गरेकी छन् । समारोहमा उपस्थित धेरैजसाले ‘हीरामण्डी’ सिरिज हेरेको र यो थाहा पाएपछि आफू उत्साहित भएको पनि मनीषाले उल्लेख गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एचपीभी खोप अभियानको सद्भावाना दूतमा मनीषा कोइराला