नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्ट (सीपीआई प्रतिवेदनसहित)

पत्रपत्रिकाबाट

शुक्रबार, ११ फागुन २०७४, ०८ : १९
नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्ट (सीपीआई प्रतिवेदनसहित)

काठमाडौं । नेपाल ३१ अंकका साथ भ्रष्ट मुलुकहरूको सूचीको १२२औं स्थानमा परेको छ । सन् २०१६/१७ मा विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षणका आधारमा ट्रान्सफरेन्सी इन्टरनेसनले जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक ९सीपीआई–२०१७०मा नेपाल भ्रष्टचार बढी हुने मुलुकको सूचीमा दर्ता भएको हो ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीईएमलगायतका ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा ट्रान्सफरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांकमा नेपालले १०० पूर्णांकमा ३१ अंक मात्र पाएको आजको राजधानी दैनिकले लेखेको छ ।

सीपीआई प्रतिवेदन
सर्वेक्षणमा नेपाललाई विश्व बैंकले ३५, वल्र्ड इकोनोमिक फोरमले ३४ र ग्लोबल इन्साइटले ३५ अंक दिएका छन् । त्यस्तै, बर्टेल्सम्यान फाउन्डेसनले २५, वल्र्ड जस्टिस प्रोजेक्टले २१ र भीडीईएमले २५ अंक दिएका छन् ।

गत वर्षभन्दा नेपाल भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा ९ स्थान माथि उक्लिए पनि नेपालमा भ्रष्टाचारको स्थिति अझै चिन्ताजनक रहेको ट्रान्सफरेन्सी इन्टरनेसन नेपाल च्याप्टरले जनाएको छ । नेपाल गत वर्ष २९ अंकका साथ १३१औं स्थानमा थियो ।

त्यस्तै, सन् २०१५ मा नेपाल २७ अंकका साथ १३०औं स्थानमा थियो भने सन् २०१४ मा नेपालले २९ अंक पाएर १२६औं स्थानमा थियो । नेपालको सबैभन्दा राम्रो अवस्था सन् २०१३ मा थियो । त्यतिबेला नेपाल ११६औं स्थानमा थियो । सन् २०१२ मा नेपाल २७ अंकका साथ सूचीको १३९औं स्थानमा थियो ।

सन् २०१७ मा नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकार दुरूपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता विषय अझै पनि समस्याका रूपमा विद्यमान रहेको ट्रान्सफरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरकी महासचिव पद्मिनी प्रधानाङले बताइन् ।
सीपीआई–२०१७ को सूचीको पहिलो स्थानमा ८९ अंकका साथ न्यूजिल्यान्ड छ । त्यस्तै, डेनमार्क ८८ अंक प्राप्त गरी दोस्रो स्थानमा उभिएको छ ।

सूचकांकले सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक सोमालिया देखाएको छ । सोमालिया ९ अंकका साथ १८०औं स्थानमा रहेको छ । दक्षिण सुडान १२ अंकका साथ पुछारबाट दोस्रो र सिरिया १४ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार अफगानिस्तानमा हुने गरेको तथ्यांक सीपीआई–२०१७ ले देखाएको छ । १५ अंक पाएको अफगानिस्तान पुछारबाट चौथो स्थानमा अर्थात् १७७औं स्थानमा छ ।

राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायतका ६ वटा मापदण्डका आधारमा देशहरूलाई शून्यदेखि १०० सम्म अंक दिइने सर्वेक्षणमा शून्य अंक अति भ्रष्टाचार हुने मुलुक र १०० अंक भ्रष्टाचार नहुने मुलुकलाई दिइन्छ । यस वर्ष १०० अंक कुनै पनि मुलुकले पाएका छैनन् ।

दक्षिण एसियामा दोस्रो भ्रष्ट मुलुक बंगलादेश दरिएको छ । बंगलादेश २८ अंकका साथ १४३औं स्थान र दक्षिण एसियामा सातांै स्थानमा रहेको छ । नेपाल दक्षिण एसियामा भ्रष्टहरूको मुलुकको सूचीमा छैटौं स्थानमा छ । त्यस्तै, ३२ अंकसाथ पाकिस्तान विश्वभर ११७औं र दक्षिण एसियामा पाँचौं, माल्दिभ्स ३३ अंकसाथ विश्वभर ११२औं दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । ३८ अंकका साथ विश्वभर ९९औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियामा तेस्रो र भारत ४० अंकसाथ विश्वभर ८१औं र दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ ।

भुटान दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भएको मुलुकमा रहेको छ । भुटान ६७ अंक हासिल गर्दै १६आंै र दक्षिण एसियामा पहिलो स्थानमा रहेको छ ।
एमनेस्टीले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार विश्वका दुई तिहाइ देशहरूले ५० भन्दा कम अंक पाएका छन् ।यस्तै, नेपालको उत्तरी छिमेकी चीन ४१ अंकसाथ ७७औं स्थानमा छ । त्यस्तै, अमेरिकाले ७५ अंक प्राप्त गर्दै १६औं स्थानमा रहेको छ ।
सन् २०१७ को नयाँ प्रतिवेदनमा नेपालको स्थितिमा केही सुधार देखिए पनि सन्तोषजनक भने नभएको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देशमा कम भ्रष्टाचार हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस