एमाले–माओवादी पार्टी एकता घोषणा चैतमा हुने

पत्रपत्रिकाबाट

शुक्रबार, ११ फागुन २०७४, ०८ : १७
एमाले–माओवादी पार्टी एकता घोषणा चैतमा हुने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी चैतमा पार्टी एकता घोषणा हुने भएको छ । दुई दलले फागुनसम्ममा प्रतिवेदन, विधानलगायतका विषय टुंग्याउँदै चैतमा पार्टी एकता घोषणाको तयारी गरेका हुन् ।

दुई दलले पार्टी एकताको विषयमा प्रतिवेदन तयार गर्न गठित प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलको संयोजक तोक्दै यथाशक्य पार्टी एकता सम्पन्न गर्ने लक्ष्यसाथ १५ दिनको समयसीमासमेत तोकेका छन् ।

१५ दिनमा कार्यदलले प्रतिवेदन पेस गरेपछि आवश्यक गृहकार्य गरेर चैतसम्ममा पार्टी एकता गर्ने दुई दलको तयारी छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले फागुनमा कार्यदलको प्रतिवेदन तथा आवश्यक अन्य गृहकार्य सम्पन्न हुने र चैतमा पार्टी एकता घोषणा गर्ने तयारी भएको बताए ।

दुई दलले बिहीबार प्रतिवेदन कार्यदलको संयोजकमा एमाले वरिष्ठ नेता माधव नेपाल र विधान मस्यौदा कार्यदलको संयोजकमा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा तोकिएका छन् ।

पार्टी एकता संयोजन समितिको गत सोमबार बसेको बैठकले एकीकृत पार्टीको नाम, विचार, सिद्धान्तलगायत विषयमा एकरुपता कायम गर्दै सात बुँदे एकताका आधार नामक सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सोही बैठकले दुई कार्यदल गठन गरेकोमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले दुवै कार्यदलको संयोजक तोक्दै १५ दिने समयावधिसमेत तोकेको खबर आजको राजधानी दैनीकले लेखेको छ ।

 

प्रतिक्रिया दिनुहोस