काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ ।
राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ । राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन । अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्राडा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले आवश्यक पूर्वाधारको तयारी गरिसकेका छौँ । कोरोना जोखिम न्यूनीकरणका लागि पनि स्वास्थ्य सेवा विभागले दिएको प्रतिवेदनका आधारमा आवश्यक सुरक्षात्मक व्यवस्था तयारी गरिसकेका छौँ । हरसम्भव रूपमा सुरक्षित तवरले बैठक सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।’’
चालू अधिवेशन सरकारका वार्षिक कार्यक्रम पेससँगै बजेट पनि प्रस्तुत हुनेछ । संवैधानिक समयसीमा अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । संसद् सञ्चालन नियमावलीको व्यवस्था अनुसार बजेट प्रस्तुतअघि कम्तीमा १५ दिन पहिले पूर्वबजेट छलफल हुनेछ । पूर्वबजेटपछि नीति तथा कार्यक्रममा छलफल हुनेछ ।
जेठ २ मा नीति तथा कार्यक्रम
यसैबीच संसद सचिवालयले अधिवेशनको प्रारम्भसँगै बजेट पारितसम्मको तालिका प्रस्ताव गरेको छ । राष्ट्रिय सभाले सम्भावित कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रतिनिधि सभाले कार्यतालिका सार्वजनिक गरेको छैन । सम्भावित कार्यतालिका अनुसार वैशाख २८ गतेबाट पूर्वबजेट छलफल गर्ने तयारी छ । दुई दिनसम्म छलफल चलाउने सचिवालयको तयारी छ । अघिल्लो वर्ष पूर्वबजेट छलफल भएको थिएन । योपटक केही दिन कटौती गरी छलफल गर्न लागिएको हो ।
यस्तै, जेठ २ गते सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सचिवालयले गरेको छ । संशोधन दर्तापछि नीति तथा कार्यक्रम जेठ ४ गतेबाट छलफल प्रारम्भ गर्ने तयारी छ । बजेट प्रस्तुत नहुँदासम्म सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत लगायतका कार्यसूची रहनेछन् । जेठ १५ गते भने सरकारका तर्फबाट वार्षिक बजेट प्रस्तुत हुनेछ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २६ बैशाख २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँ