थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

बुधबार, १७ बैशाख २०७७, ११ : ४८
थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौँ ।  कोरोना भाइरसको संक्रमण नेपालमा थप तीनजनामा पुष्टि भएको छ । बुधबार आज तीनजना संक्रमण देखिएको हो । यो नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको नमूना परीक्षणमा बाराका दुई र पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

संक्रमित हुनेमा बाराको जितपुर सिमरा नगरपालिकाका ४३ वर्षका तथा सिम्रौनगढका ३१ वर्षका पुरुष हुन् । यस्तै अर्का संक्रमित पर्साको वीरगञ्ज–२ छपकैयाका ४६ वर्षका पुरुष हुन् । तीनैजना दिल्लीमा तबलिगीमा भएको धार्मिकसभामा सहभागी भएर फर्किएका थिए ।

गएको आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज–१६ का एकजना दिल्लीको धार्मिकसभामा सहभागी भएका थिए ।

उनीको सम्पर्कमा आएकाहरुको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षका पुरुषलाई क्वारेन्टाइनमा राखिएको थियो । कोरोनाको संक्रमणका बिरामी थपिदैं गएपनि हाल सम्म संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।