प्रधानमन्त्री  ओली र बामदेव बिच बालुवाटारमा ‘भनाभन’

आपसी सम्बन्ध सुधार र आफु अनुकुल मनाउन बालुवाटार निम्ताईएका गौतमसँग प्रधानमन्त्री ओलीको झन बिग्रियो सम्बन्ध

आइतबार, १४ बैशाख २०७७, ०८ : ४४
प्रधानमन्त्री  ओली र बामदेव बिच बालुवाटारमा ‘भनाभन’

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच प्रधानमन्त्री निवास बालुवाटारमा भनाभन भएको छ । दुई नेताबीच पार्टी बैठकका विषयमा छलफल हुदा भनाभन भएको हो । प्रधानमन्त्री ओलीले पार्टीका स्थायी समिति सदस्यहरुले लिखित बैठकको माग गर्दा समेत बैठक बस्न अहिले सम्भव नभएको प्रतिक्रिया दिएपछि गौतमले अन्य काम गर्न सम्भव हुने बैठक बस्न किन सम्भव नहुने बताएपछि भनाभन भएको बालुवाटार स्रोतले जनाएको छ ।

गौतमले अब प्रधानमन्त्रीले आराम गरेर बालकोटमा गएर बस्नुपर्ने छलफलका क्रममा बताएका थिए । ओलीले पार्टी नेताहरु आफुलाई हटाउने खेलमा लागेको सम्पूर्ण तथ्य आफुसँग रहेको भन्दै त्यस्तो खेलवाट आफु नतर्सिने, बरु आफु विरुद्ध षडयन्त्रमा लाग्ने नेताहरुलाई आफुले एक एक गरेर हिसाब गर्ने बताएपछि गौतम ओली चर्काचर्की परेको हो ।ओलीले आफु विरुद्ध लागेका नेताहरुको हिसाव गर्ने भनेर धम्काएपछि गौतमले पनि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै छोडेर आराम गरेर बस्न सुझाएका हुन् ।

‘हामीलाई धेरै नधक्काउनुहोस्, अब तपाँईले न सरकार न पार्टी चलाउन सक्नुहुन्छ, सक्नुहुन्छ, दुवै पद त्यागेर बालकोट पुगेर आराम गरेर बस्नुहोस्, यहीमा तपाई (प्रधानमन्त्री)को भलो हुन्छ,’ ओलीलाई गौतमले भनेका थिए ।
मलाई हटाएर अब तपाईहरुले ल्याउन खोज्नुभएको कसलाई ? त्यसपछि ओलीको प्रश्न थियो गौतमलाई । प्रधानमन्त्री ओलीको त्यस्तो प्रश्न पछि गौतमले भने–‘ पहिले बैठक बोलाउनुहोस, साथीहरुका कुरा सुन्नुहोस, तपाईले पनि जवाफ दिनुहोस, त्यसपछि अबको भन्ने विषयमा त्यही पार्टीले विधि र प्रक्रिया अनुसार निर्णय लिन्छ ।’ सिधा सिधा सवाल जवाफ गरेका ओली गौतमको चर्काचर्की परेपछि ओलीले पनि गौतमलाई म तपाईहरुले भन्दैमा राजीनामा दिने ब्यक्ति नभएको बताएका थिए । 

‘तपाईहरु जे सुकै भन्न्ुहोस म राजीनामा दिन्न, ल के गर्नुहुन्छ मिलेर गर्नुहोस, अविश्वास प्रस्ताव ल्याउनुहोस, म डटेर सामना गर्न तयार छु,’ ओलीले गौतमसँग भने । गत वैशाख ८ गते ओलीले ठाडो प्रस्तावका रुपमा राजनीतिक दल विभाजन र सम्वैधानिक परिषदको गणपुरक संख्या घटाउने गरी दुई अलग अलग अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद थप उत्र्कषमा छ । हुन त यस अगाडीका विवादका विषय पनि नेकपाले निरुपण गरिसकेको छैन ।

पछिल्लो विवादका कारण ओलीको कार्यशैली हद भएको र यसले उनलाई र पार्टीलाई नै ड्यामेज बनाएको भन्दै नेकपा नेताहरु बढी चिन्तित देखिएका छन् । सोही कारण समग्र विषयको समिक्षा गर्नुपर्नेमा ओली इतरका नेताहरुको जोड देखिन्छ ।  गत वैशाख ८ मा अध्यादेश जारी भएसँगै बसेको नेकपाको आकस्मिक सचिवालय बैठकमा गौतमले ओलीले ल्याएको अध्यादेश सही भएको भए पनि समय अनुपयुक्त भएको र पार्टी बैठक छलेर ल्याएकोमा मात्र गलत गरेको बताउदै मझधारमा अभिब्यक्ती दिएका थिए ।

यस अगाडी पनि ओलीले बेलाबेला गौतमलाई फकाएर आफु अनुकल बनाउने र आफु पार्टीमा हाबी हुदै आएका थिए । अध्यादेशका विषयमा मझधारमा बोलेका गौतमसँग सौहार्दपूर्ण छलफल गरी पार्टी बैठक छल्ने योजनामा ओली लागेका र त्यसका लागि गौतमलाई मनाउने प्रयासमा प्रधानमन्त्रीले शनिबार गौतमलाई बालुवाटार निम्ताएका थिए ।  तर गौतमले पार्टी बैठक बोलाउन आनाकानी गर्न नहुने र तुरुन्त बोलाउनु पर्ने, ओलीले पनि अब सरकार र पार्टी दुवै चलाउन नसक्ने सिधा सिधा भनेपछि गौतम ओली बालुवाटारमै चर्काचर्की परेको हो ।