एसियाकै लामो झोलुंगे पुल निर्माण कार्य सम्पन्न

पत्रपत्रिकाबाट

आइतबार, १४ बैशाख २०७७, ०७ : २७
एसियाकै लामो झोलुंगे पुल निर्माण कार्य सम्पन्न

काठमाडौँ । बागलुङ र पर्वत जोड्ने गरी बन्न लागेको एसियाकै लामो झोलुंगे पुल निर्माण कार्य सम्पन्न भएको छ । बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्नेगरीे ५ सय ६७ मिटर लामो झोलुंगे पुल निर्माणको काम सकिएको हो । कोभिड–१९को विश्वव्यापी संक्रमणका कारण नेपालमा चैत ११ गतेदेखि लकडाउनका जारी छ ।

लकडाउनसँगै विकास निर्माणका अन्य कार्यहरू ठप्प भए पनि नेपालकै लामो झोलुंगे पुलको निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । गत चैत्रवाट निर्माण कार्य सुरु भएको पुल वर्ष दिनको अवधिभित्रै सम्पन्न गरेको हो । सस्पेन्सन व्रिज डिभिजन कार्यालयले मार्फत निर्माणाधीन पुल निर्माणको जिम्मा हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो । ७ करोड ९७ लाखमा निर्माण सम्झौता भएको पुल साझौता आधाभन्दा एक वर्ष पहिले नै निर्माण कार्य सम्पन्न भएको हिमशिखर कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिध नरहरि खड्काले जानकारी दिए ।

“हामीले कामलाई गुणस्तरिय र छिटो गर्ने प्रयत्न गरेका छौं,” खड्काले भने, “हामीले लकडाउनमा समेत पुल निर्माण गर्न रोकेनौं ।” वैशाखको सुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा निर्माण कम्पनी लागेको थियो । “लकडाउनले हस्तान्तरण गर्ने कार्य स्थगन भएको छ, लकडाउा खुलेपछि हस्तान्तरण भएलगत्तै उक्त पुल सर्वसाधारणका लागि खुला गरिनेछ,” खड्काले भने । कालिगण्डकी नदीमाथी निर्मित उक्त पुल ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर अग्लो छ ।

गत फागुनमै सक्ने भनिएको पुल दुई वटा राजमार्गमाथिबाट लट्ठा तान्दा समय लागेको थियो । निर्माण कम्पनीले पर्वत र बागलुङतर्फका दुवै राजमार्गमा रोकावट नहुने गरी चिनियाँ प्रविधिको औजारले लट्ठा तानेको थियो । “बागलुङले पुल निर्माणमा प्रयोगको नयाँ अवसर पाएको छ,” खड्काले भने, “हामिले आफ्नो प्रविधिले ३ सय ६५ मिटर लामोसम्म पुल बनाए पनि यो भने नयाँ प्रयोग हो ।” झोलुङ्गे पुलको जिल्लाकै रूपमा परिचित बागलुङमा मुलुककै लामो झोलुङ्ले पुल निर्माण हुनु नयाँ संयोग भएको उनको भनाइ छ ।

मुलुकमै पहिलोपटक यस किसिमको लामो पुल निर्माण हुनु चुनौती भएपनि दक्ष प्राविधिकहरू भएकाले गुणस्तरीय काम भएकोे उनले बताए । दुई दशक अगाडिदेखि चर्चामा रहेको उक्त पुल लठ्ठा तान्ने मेसिन र बजेटको समस्या हुँदा काम अगाडी बढ्न सकेको थिएन ।

यस वर्ष नेपाल सरकारले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि काम अगाडि बढेको हो । अत्याधुनिक उपकरणबाट पुलका लट्ठा तानेको नेपालमा पहिलो पटक हो । सस्पेन्सन वृज डिभिजन कार्यालयले ४ सय मिटरभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ । दुई जिल्ला जोड्ने यस पुलको निर्माणले पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिक स्तर उकास्नका लागि पनि सहयोग पुग्ने छ । आजको करोबार दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस