घरभित्रै भएको छ बन्दी महामारीमा याे जिन्दगी

बुधबार, ०३ बैशाख २०७७, १२ : २६
घरभित्रै भएको छ बन्दी महामारीमा याे जिन्दगी

- द्वारिका नेपाल

सरकारले लकडाउनको अवधि पटकपटक थपिरहेको छ। मेरो बुझाइमा लक डाउन भनेको जो जहाँ छ त्यहीँ रहनु  हो। तर केही मानिस मानौ सरकारले नै देशमा कोरोनालाई निम्ता दिएर जनतालाई सास्ती दिएको हो भनेर एकोहोरो कोकोहोलो मच्चाइरहेका छन्। लाग्छ, केही दिनभित्रै आफू मरिहालिन्छ र सरकारलाई गाली गर्न पाइन्न, यही बेला भएको जति अड्को थापेर गाली गरौँ भन्ने धारणा बोकेर बसेका छन्। 

लकडाउनमा हिँडडुल गर्न हुँदैन भन्ने थाहा सबैलाई होला तर बहादुरी देखाउँदै मर्निङ वाकका नाममा, तरकारी लिने नाममा, आफन्त भेट्ने नाममा, मानिस ओसारपसार गर्ने नाममा, बाहिरको वातावरण कस्तो रेुछ हेरौँ भन्ने नाममा, म यो पार्टीको मान्छे हुँस मलाई केही हुन्न भन्ने अहङ्कार पाल्ने नाममा अझै पनि मान्छे बाहिर हिँडिरहेको देखिन्छ। कोही सयौँ किलोमिटर दूरी नापेर घर जान हिँडिरहेका छन् र एक किसिमको सहानुभूति बटुलिरहेका छन्। कोही दुध, तरकारी, अन्डा फालेको फोटो सार्वजनिक गरेर बहादुरी देखाउँदै छन्, मानौँ यो फोटो सार्वजनिक गरेपछि तत्काल ती सामग्री बिकिहाल्छ र आफ्नो गल्ला ९पैसा राख्ने बाकस० भरिन्छ वा यसरी पनि सरकारको विरोध गर्न पाइन्छ। 

हो, सरकार धेरै कुरामा चुकेको छ। समयमा सजगता अपनाउन नसक्नु, उपचारका लागि आवश्यक उपकरणको यथोचित व्यवस्था गर्न नसक्नु, सम्भावित जोखिम क्षेत्र पहिचान गरेर परीक्षणको दायरा तत्काल बढाउन नसक्नु, सामान खरिद प्रक्रियामा अनियमितताको आशङ्का हुनु, यथोचित अभिभावकत्व महसुस गराउन नसक्नुलगायत कयौँ कमजोरी सरकारका छन्। यस्तै दैनिक ज्यालादारीमा खट्ने असंगठित श्रमजीवीहरूको दैनिकीलाई नजिकबाट हेर्न र सहयोग गर्न नसक्नु, वास्तविक अभावग्रस्त परिवार पहिचान गरेर राहत सामग्री वितरण नगर्नु, खाद्य सामग्री खरिद बिक्रीका लागि उपभोक्ता र बिक्रेताको अवस्था र सुरक्षाको बारेमा ध्यान नदिनु, जस्ता केही सबालमा सरकारले नजरअन्दाज गर्न मिल्दैन। 

यसो भन्दैमा सरकारले केही पनि गरेको छैन भन्ने त होइन। तीव्र परीक्षणको काम अघि बढेको छ। पी सी आर प्रविधिबाट परीक्षण गर्न देशका सातै प्रदेशसहित १० भन्दा बढी स्थानमा ल्याब स्थापना भएको छ। दैनिक रूपमा आधिकारिक सूचना र सन्देश विभिन्न माध्यमबाट सम्प्रेषण गरेको छ। 

यो बेला एउटा देशमा मात्र सङ्कट आइपरेको होइन। संसार नै कोरोनाकहरबाट आक्रान्त भएको बेला हामी नेपाली भएकोले हामीले बढी सुविधा पाउनुपर्छ भन्ने भ्रमबाट हामी मुक्त हुनै पर्छ। महामारीका बेला, महायुद्धका बेला, महासङ्कटका बेला जीवन सहज पक्कै हुँदैन। हरेक सरकारले नागरिकको अधिकाधिक हित सोचेर आफ्नो पक्षमा निर्णय र कार्यान्वयन गर्दै जाने हो। 

बरु देशको क्षमता, उपलब्ध साधन र स्रोतको प्रयोगबाट सरकारले यो यो काम गर्न उचित हुन्छ भनेर सुझाव दिऔँ न। हामीले घरबाट बाहिर ननिस्केर सरकारको आदेश पालना गरेका छौँ, सरकारले पनि नागरिकको सुरक्षा, जीवनका लागि यस्ता कामहरू गर्नुपर्छ भनेर दवाव दिऔँ। एकोहोरो विरोध मात्र गरेर बहादुरी प्रदर्शन नगरौँ। असन्तुष्टि हरेक व्यक्तिमा छ। कमजोरी हरेक व्यक्ति, विषय, पक्षमा देखिन्छ। खोज्ने हो भने आफ्नै आमा(बाका, दाजुभाइका, दिदीबहिनीका, छोराछोरीका कतिपय क्रियाकलाप पनि मान्छेलाई मन पर्दैन तर हामी सम्झौता गर्दै आफ्नो दैनिकी बिताइरहेका हुन्छौँ। अहिलेको परिस्थिति पनि यही हो। 

यति भन्दा सरकारको समर्थन गरेको वा विरोध गरेको अर्थ लाग्यो भने पनि स्वीकार छ। हामीले चाहिँ लकडाउनको अर्थ बुझेर जहाँ जुन अवस्थामा छौँ त्यहीँ सुरक्षित बसेर सहयोग गरौँ। आफू बचौँ, परिवारलाई बनाऔँ, समाजलाई बचाऔँ। सबैको जय होस्।