गुणस्तरहीन दाल र चामलमा रोक्का तथा शिलबन्दी

सफल खबर संवाददाता

आइतबार, ३० चैत्र २०७६, २० : ०१
गुणस्तरहीन दाल र चामलमा रोक्का तथा शिलबन्दी

फाईल फोटो

बारा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा राहत वितरणको क्रममा फेला परेका गुणस्तरहीन दाल र चामल रोक्का तथा शिलबन्दी गरिएको छ ।

बारा कलैया उपमहानगरपालिका-२० बसतपुरमा शुक्रबार राहत वितरण गर्न लागिएको दालको केही भागमा किरा लागेको तथा सडेको देखिएको भन्ने सूचनाको अधारमा तत्काल निरीक्षण तथा अनुगमन गर्दा पुरानो, किरा लागेको र खानयोग्य नदेखिएको हुँदा राहत बितरण गर्न भनी राखिएको २५ केजी दरका २५ बोरा रहरको दाल तत्कालै नियन्त्रणमा लिइएको हो । उक्त दाल परीक्षणका लागि नमूना लिई प्रहरी चौकी बसतपुरको नियन्त्रणमा राख्न पठाइएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय बाराको पत्रादेशले उक्त दाल खरिद गरिएको स्थान कलैया उपमहानगरपालिका-७ स्थित यादव कोल्ड स्टोरमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सहितको प्रहरी टोली गई अनुगमन तथा तलासी गर्दा सोही ब्राण्डको २५ केजी दरका ३ सय ८० बोरा रहरको दाल शनिबार फेला परेकोले परीक्षणको लागि नमूना समेत लिई शिलबन्दी गरी राखिएको हो ।

प्रतिक्रिया दिनुहोस