अवरोध रहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : रक्षामन्त्री

आइतबार, ०३ मंसिर २०७४, १७ : २०
अवरोध  रहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : रक्षामन्त्री

 रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
    
    क्यानाडाको भ्यानकुभरमा गतसाता भएको राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनबारे जानकारी दिन आज रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उहाँले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
    
    केही दिनयता निर्वाचनलाई प्रभावित पार्ने तथा प्रचारप्रसारमा अवरोध खडा गर्नेलगायत आपराधिक गतिविधि हुन नदिन सरकार गम्भीर रहेको बताउँदै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।
बम, बारुदी पासो विष्फोटजस्ता ३४ वटा आपराधिक घटनाको सूचना आफूलाई गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी दिँदै उहाँले देशमा आतंक मच्चाउनेविरुद्ध सरकार सचेत र गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षा सरकारको पहिलो प्राथमिकता हो ।”
    
    प्रधानसेनापति राजेन्द्र क्षत्रीले चुनाव प्रचारमा रहेका नेतालाई तारो बनाएर गरिएका आक्रमणलाई मुुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने उच्छृङ्खल क्रियाकलापको संज्ञा दिँदै उम्मेदवारको सुरक्षामा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको स्पष्ट गर्नुभयो ।

    “आम मतदातामा सुरक्षाको पूर्ण प्रत्याभूति गराउँदै निर्वाचनको सुरक्षित एवं विश्वसनीय वातावरण तयार गर्नुका साथै मतपत्रको छपाइ, ढुवानीजस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ”– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा प्रमुख जिल्ला अधिकारीको आग्रहमा सेना परिचालन हुने कार्यादेश सुनाउँदै उहाँले भन्नुभयो ।

    दुईदिने सम्मेलनमा नेपालका तर्फबाट आफूले राष्ट्रसंघीय शान्ति स्थापनाका लक्ष्यलाई अझ प्रभावकारी र समयसापेक्ष तुल्याउन तथा सदस्य मुुलुकबीच सहायता अभिवृद्धि गर्नमा योगदान गरेको जानकारी दिँदै रक्षामन्त्री प्रधानले ५९ वर्षदेखि शान्ति सेनामा सहभागी भएर नेपालले विश्वका द्वन्द्वग्रस्त स्थानमा शान्ति कायम गर्ने काम गर्दैआएको बताउनुभयो । (रासस)

 

प्रतिक्रिया दिनुहोस