चितवन । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई रोयल फर्मासिटिकलले औषधि सहयोग गरेको छ । फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट ट्याबलेट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो ।
रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशव प्रसाद लामिछानेले सो औषधि हस्तान्तरण गर्नुभयो । प्रबन्ध निर्देशक लामिछानेले बजारमा अभाव रहेको औषधि कोरोना अस्पताललाई सहयोग गरेको बताउनुभयो । उहाँले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलिएका अवस्थामा कम्पनीले सामाजिक दायित्व अन्तर्गत सहयोग गरेको जानकारी दिनुभयो ।
सो अवसरमा कोरोना प्रकोपविरुद्ध जिल्ला व्यवस्थापन समितिका संयोजक तथा सांसद विजय सुवेदी, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल,बरिष्ठ चिकित्सक भोजराज अधिकारी,चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ लगाएतको उपस्थिति रहेको थियो । कोरोना अस्पताललाई थप व्यवस्थित बनाउँदै र जिल्लामा कोरोना संक्रमण भित्रन नदिन कडाइका साथ काम भइरहेको संयोजक सुवेदीले बताउनुभयो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निरन्तर कोरोना विरुद्धको अभियानमा लागेको बताउनुभयो । कोरोना अस्पताललाई विभिन्न क्षेत्रबाट आवश्यक मेडिकल सामाग्री सहयोग गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०७६, १४ : ०९
लेखकबाट थप