काठमाडौं । कोरोनाको सन्त्रास बढेर महामारीको रुप लिइरहेका बेला २२ दिनको अवधिमा नेपाली तथा विदेशी गरि १ लाख १५ हजार ५ सय ६६ मानिस नेपाल भित्रिएका छन् ।
उनीहरु १ मार्च (२८ फागुन) देखि २२ मार्च (चैत ९) सम्मको २२ दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार सो अवधिमा नेपाल भित्रनेमध्ये ८० हजार ५ सय ४३ जना नेपाली र ३५ हजार २३ जना विदेशी नागरिक छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए ।
‘मार्चमा मात्रै नेपाली तथा विदेशी यात्रु गरी १ लाख १५ हजार ५ सय ६६ जना यात्रु अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन्, यस अवधिमा आउने विदेशीको संख्या ३५ हजार २३ छ, अन्य सबै नेपाली छन्,’ अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख आचार्यले भने ।
सरकारले अन्तर्राष्ट्रिय उडानमा ९ चैतमा रोक लगाएयता अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोही पनि नेपाली तथा विदेशी नेपाल आएका छैनन् । कोरोना संक्रमण (कोभिड १९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि सरकारले अन्तर्राष्ट्रिय उडानसंगै देशव्यापी रुपमा लकडाउन गर्ने निर्णय गरेको थियो ।
नेपालमा हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । यसरी संक्रमण देखिने सबै विदेशबाट आएका नेपाली छन् । सरकारले विदेशबाट आएका नेपालीलाई स्वास्थ्य परीक्षण गराउन र क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष: सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु
सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित
नेपाल र कम्बोडियाबिच सिधा हवाई सेवा सञ्चालनबारे छलफल
महिला टी–२० सिरिजः नेपालको पहिलो जित