राज्य व्यवस्थामा २५ जनाभन्दा बढी भएपछि...

सफल खबर संवाददाता

विहीबार, ०६ चैत्र २०७६, २० : ०१
राज्य व्यवस्थामा २५ जनाभन्दा बढी भएपछि...

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज पूर्व निर्धारित थियो । सरकारले हिजो मात्रै भेला गोष्ठी नगर्न भनिसकेको छ भने २५ जना भन्दा बढी भेला नहुन समेत अनुरोध गरिसकेको अबस्थामा आज राज्य व्यवस्था बस्यो । 

बैठकमा मान्छे धेरै हुने ठानेर समितिकी सभापति शशी श्रेष्ठले २ जना पत्रकार मात्रै सहभागि गराउने कुरा मर्यादापालकमार्फत जानकारी आएको थियो  तर पत्रकारको जिद्धीले करिव १० जना पत्रकार भित्र छिरे । 

शुरुमा १५, २० जना साँसदहरु थिए । विस्तारै साँसदको संख्या बढ्दै गयो । कोरोनाका कारण साँसदहरुले भेला हुन नहुने कुरा खासखुस गर्दै थिए । बैठकमा काँग्रेसका साँसद दिलेन्द्र प्रसाद बडुले राज्यले गरेको निर्णय विरुद्ध २५ जना भन्दा बढी सांसद भेला भएको भनेर समितिका ध्यानाकर्षण गराए । तर सभापति श्रेष्ठले उहाँको कुरालाई ध्यानाकर्षण भएको भनेर वास्तै नगरी बैठक सञ्चालन गरिन् ।  उनको मनस्थिति पेलेरै लानुपर्छ भन्ने थियो । केही बेर पेलेरै चलाइन् पनि ।

उनले जवरजस्ती बैठक बसालेपछि विस्तारै सांसदहरु थपिँदै गए । हल भरियो । झण्डै ४० जना भन्दा बढी भयो । त्यहाँ ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका हुँदै थियो । छलफलमा संसोधन प्रस्ताव राखेका केही अन्य समितिका सांसदहरु सहभागि थिए । 

 त्यसपछि दिलेन्द्रप्रसाद बडुले आफ्ना सांसद पुष्पा भुषाललाई संसद बैठक गर्ने कुरा के छ भनेर सोधे । उनले थाहा छैन  भनेपछि फेरी बडु कड्किए । राज्यले नै निर्णय गरेको उच्च स्तरीय समन्वय समितिले गरेको निर्णइ विरुद्ध हामी कसरी जान सक्छौँ । यो बैठक रोक्नुपर्यो । तब पनि शशी श्रेष्ठले पुरानै कुरा दोहोर्याएर बैठक अगाडी बढाउन थालिन् । त्यसपछि बडुले हात उठाउँदै बैठक अघि सार्न नहुने बताइरहे । उनलााई डिला संग्रौलाले साथ दिए । 

केही साँसदहरु मस्क लगाएर आएका थिए भने केही साँसदहरु नलगाइ आएका थिए । त्यत्तीकैमा ठट्टा गर्दै सांसद नवराज शिलवालले त्यसो भए मास्क लगाउने साँसद जती बाहिर जाउँ नलगाउने जती भित्र बसौ भने । जसमा मास्क लगाउने बड्पनि थिए ।  

त्यसपछि कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको निर्णयानुसार २५ जनाभन्दा बढी भेला हुन नहुनेमा सहभागी सङ्या बढी भएको भन्दै सांसदहरुले पटकपटक प्रश्न उठाएपछि आजको बैठक केहीबेर चलेर स्थगन भयो । 

समितिले बुधबार गरेको निर्णय नं ३ मा अत्यावश्यक काम बाहेक आवातजावत हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु नगर्न र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने र उक्त विषयको अनुगमन गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने उल्लेख छ । 

बैठक सञ्चालन हुँदा उक्त विधेकमाथि संसोधन प्रस्ताव प्रस्तुत गर्ने नेपाली काँग्रेसका सांसद पुष्पा भुषाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विन्दा पाण्डेले संशोधन प्रस्ताव राख्नुको कारणबारे समितिमा जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस