प्रधानमन्त्रीका सल्लाहकारलाई किन भेटे भारतीय राजदुतले ?

विहीबार, ०६ चैत्र २०७६, ०८ : ५५
प्रधानमन्त्रीका सल्लाहकारलाई किन भेटे भारतीय राजदुतले ?

काठमाडौं । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राको राजनीतिक दौडधुप अझै रोकिएको छैन् । दुई साता अगाडी मात्रै नेपालका लागि राजदुतको जिम्मा लिएर आएपछि उनको राजनीतिक दलका नेताहरुका निवास धाउने र राजनीतिक भेटघाट बढाउने श्रृंखला शुरु भएको थियो ।

यो बीचमा उनले मुख्य राजनीतिक दलका प्रमुख नेताहरुसँग भेट गरिसकेका छन् । नेपालका नेताहरुसँगको सम्बन्ध बिस्तार र आपसी भेटघाटका लागि राजदुत क्वात्राको भेटवार्ता र दौडधुप जारी रहेको भारतीय दुतावासले जनाएको छ । तर, उनका कतिपय भेटघाट यस्ता छन्, जो नेपालको राजनीतिक घटनाक्रमसँग कुनै न कुनै रुपमा जोडिन खोज्ने हुन्छन् ।

उनले उद्योगी ब्यवसायी देखि राष्ट्रिय राजनीतिमा कसको कँहा के प्रभाव रहन्छ भन्ने उनलाई लाग्छ, उनी त्यहाँ पुगिहाल्छन् । कि त उनले आफु त्यस ठाँउमा पुग्ने या आफ्नो लैनचौरस्थित निवासमै बोलाएर भेटघाट गर्ने गरेका छन् । मधेस केन्द्रीत दलका नेतालाई उनले आफ्नै निवासमा बोलाउने र अन्यका हकमा सकभर आफै पहिलो चरणमा निवास वा कार्यालयमा पुग्ने गरेका छन् । यो उनको डिप्लोमेसी भेटघाट रहेको दुताबास स्रोतले बताएको छ । 

उनले नेपालका राजनीतिक नेताहरुलाई नभेटेको कुनै दिन छैन् । उनी हरेक दिन कसै न कसैलाई भेटने गरिरहेकै छन् । बुधबार मात्रै उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसँग भेटवार्ता गरेका छन् । रिमाललाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा र पौडेललाई आफ्नै निवासमा उनले भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदुतावासले जनाएको छ । 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाललाई उनले सिंह्दरबारमा झण्डै एक घण्टा भन्दा बढी समय भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा लिएको दुतावासले औपचारिक रुपमा बताएपनि राष्ट्रिय राजनीति र सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्रीलाई परेको अप्ठयारोका विषयमा राजदुत क्वात्रा र रिमालबीच सम्वाद भएको स्रोत बताउँछ ।

भेटमा प्रधानमन्त्रीलाई पार्टीभित्र परेको अप्ठयारोका विषयमा बढी केन्द्रीत रहेर छलफल भएको बताइन्छ । पछिल्लो दिनमा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतमा गरेका केही राजनीतिक भेटघाट, त्यसपछि नेपालमा पूर्वपञ्चहरुको पार्टीमा भएको एकता, मधेस केन्द्रीत दलहरुका धारणा र सरकारको अप्ठयाराका विषयमा केन्द्रीत रहेर रिमाल र क्वात्राका बीचमा कुराकानी भएको स्रोतको दाबी छ ।

विशुद्ध राजनीतिक भेटवार्ता भएको थियो,’ दुतावास स्रोत भन्छ । काँग्रेस वरिष्ठ नेता पौडेल भने राजदुतलाई भेटन दिउँसो दुतावास नै पुगेका थिए । त्यहाँ उनले काँग्रेसको आसन्न महाधिवशेनमा सभापति इतर समुहका पक्षमा भारतीय पक्षको साथ र सहयोगका विषयमा केन्द्रीत रहेर छलफल गरेको बताइन्छ । यस्ता भेटघाट सामान्य औपचारिकता मात्र भने पनि खुलेर राजनीतिक सहयोग आदान प्रदानका विषयमा केन्द्रीत रहने गरेको स्रोत बताउँछ ।

पालका राजनीतिक दलका नेताहरुले नै महत्व दिएर राजदुतलाई भेट गरिरहनुलाई भने अर्थपूर्ण रुपमा हेरिनु पर्ने हुन्छ । भारतले नेपालको राजनीतिमा जहिल्यै हस्तक्षेपकारी भूमिका खेलिरहेको आरोप लाग्दै आएको बेला भारतीय राजदुतलाई नेपालका राजनीतिक नेताहरुले दिएको महत्व र प्राथमिकताले पनि त्यही सन्देश देखाउँछ । राजदुत क्वात्रासँग भारतीय पक्षको धारणा र पार्टीभित्र आफुलाई पर्न सक्ने अप्ठ्यारामा भारतीय सहयोगका विषयमा रिमालले प्रधानमन्त्रीसँगको सल्लाहकै आधारमा राजदुतसँग भेटवार्ता गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस