ज्येष्ठ नागरिकको हत्या प्रयास, आरोपित पक्राउ

आइतबार, ०२ चैत्र २०७६, १७ : ५२
ज्येष्ठ नागरिकको हत्या प्रयास, आरोपित पक्राउ

सांकेतिक तस्बिर ।

सप्तरी । राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आज एक युवक पक्राउ परेका छन् ।

धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आरोपितलाई घाइतेले पहिचान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो ।

पीडितको घाँटीमा गम्भीर घाउ भएको र ६० टाँका लगाउनुपरेको अस्पतालले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबारदेखि घाइतेको उपचार शुरु भएको छ ।

घरमा सुतिरहेका बेला बिहीबार मध्यराति आरोपितले दराज खोलेर सामान खोतलिरहेका बेला ब्युँझेर रोक्न खोज्दा आरोपितले आक्रमण गरेको घाइते साहले बताउनुभयो । घरभित्र प्रवेश गरेका आरोपितले भुइँमा लडाइँ चक्कुले घाँटी काटेको पीडितले बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस