काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण काम गर्न समस्या आउने गरेको बताउनुभएको छ । प्रमुख शाक्यले आर्थिक वर्ष २०७५-०७६ को लेखापरीक्षक प्रतिवेदनको मस्यौदामाथि महालेखाका प्रतिनिधिसँग शुक्रबार छलफल गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “समन्वयको अभावमा सङ्घीय र प्रदेशसभा सदस्य र स्थानीय सरकारले राख्ने बजेट एकै ठाउँमा पर्ने गरेकाले पनि समस्या हुने गरेको छ”, प्रमुख शाक्यले भन्नुभयो ।
प्रमुख शाक्यले महानगरपालिकाले काम गर्न खोजे पनि कतिपय अवस्थामा काममा अवरोध हुने गरेको बताउनुभयो । “हामीले हरिभवन रहेको स्थानमा महानगरपालिकाको आफ्नै भवन बनाउन चाहेका थियौँैँँ, वसन्तपुरमा दमकल भवन बनाउन चाहेका छौँ । यस्ता धेरै कामका लागि बजेट पनि विनियोजन गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर, एउटा समूह हामीले काम गर्न थालेपछि उजुरी बोकेर अख्तियार, पुरातत्व र अदालत धाउन थाल्छ । त्यहाँ उजुरी परेपछि काम रोकिन्छ । समस्या यसले पनि भएको छ ।”
छलफलमा उपमहालेखा परीक्षक रामप्रसाद डोटेलले खरिद र खर्चलाई स्वच्छ, मितव्ययी र पारदर्शी ढङ्गले गर्न सुझाव दिनुभयो । डोटेलले बजेट व्यवस्थापन र राजश्व प्रशासनलाई चुस्त बनाउँदै बजेटको सिन्द्धान्तभित्र बसेर खरिद प्रक्रियालाई पनि पारदर्शी ढङ्गले अघि बढाउने बित्तिकै धेरै समस्या समाधान भएर जाने बताउनुभयो । प्रमुख शाक्यले जनप्रतिनिधिलाई पारिश्रमिक वा सेवा–सुविधा नदिने भन्ने कुरा सान्दर्भिक नभएको गुनासो गर्नुभयो ।
“श्रमिकले उसको श्रमअनुसारको पारिश्रमिक पाउनुपर्छ भनेर हामी लड्दै आएका व्यक्ति हौँ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिले पनि बिहानदेखि बेलुकासम्म जनताको घरदैलोमा पुगेर काम गरिरहेका हुन्छन् । यसरी अहोरात्र खट्ने जनप्रतिनिधिले पारिश्रमिक पाउनुपर्छ”, उहाँले भन्नुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ चैत्र २०७६, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् लाइनमुनि रहेका संरचना हटाउन काठमाडौं महानगरको निर्देशन
स्वास्थ्य बीमा भएका वडामा नि:शुल्क भिडियो एक्सरे सेवा
घरको फोहोर सडकमा फालेको भन्दै महानगरले तिरायो जरिवाना
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
अतिक्रमित संरचना भत्काउन डोजर लिएर गौशाला पुग्यो नगर प्रहरी
जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा