विराटनगर । कोभिड–१९ सङ्क्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी)ले आजदेखि हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन शुरु गरेको छ । स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफँै उत्पादन शुुरु गरेको हो ।
उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चापदार्थ बजारबाट खरिद गरी स्यानेटाइजर र मास्क बनाउन शुुरु गरेको अस्पतलका मेडिकल प्रमुख डा सङ्गीता मिश्राले जानकारी दिनुभयो । अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न रसायनको प्रयोग गरी २० लिटर ह्यान्ड स्यानेटाइजर उत्पादन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुुसार विभिन्न रसायन मिसाएर स्यानेटाइजर उत्पादन गर्नाका साथै एक हजार थान डबल लेयरको माक्ससमेत बनाइएको प्रमुख डा मिश्राले बताउनुभयो ।
अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानेटाइजर उत्पादन गरेको र आगामी दिन आवश्यकताअनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ । अस्पताल प्रमुख डा मिश्राले उत्पादन गरिएको स्यानेटाइजर र माक्स सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाप्रमुुख डा सुुरेश मेहतालाई हस्तान्तरण गर्नुभयो । अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ ।
स्यानेटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ । यसैगरी अस्पतालले कोभिड–१९ बाट सङ्क्रमितका लागि तीन श्ययाको फिवर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमण बिरामीको जाँचका लागि प्रयोशालासमेत सञ्चालनमा ल्याएको छ ।
अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कको व्यापारीले कृत्रिम अभाव सिर्जना गरी चारदेखि पाँच सय प्रतिशत मूल्य वृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताउनुभयो । प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका बिरामीको उच्च चाप रहने गरेको छ । अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् ।
३३ हजार फर्म दर्ता
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विभिन्न व्यावसायिक कार्यका लागि हालसम्म ३३ हजार ६० प्र्राइभेट फर्म दर्ता गरेको छ । ‘उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता र उपभोगमा विवेकशीलता’ नाराका साथ यही चैत २ गते विश्व उपभोक्ता अधिकार दिवस मनाइने सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सोही अवधिमा ९८० साझेदारी र ४२ वटा कम्पनी दर्ता गरेको कार्यालयका निमित्त प्रमुख हिमालय बरालले जानकारी गराउनुभयो ।
कार्यालयले आव २०७६÷७७ को माघ मसान्तसम्ममा ६२१ प्राइभेट, ४२ साझेदारी र ३० वटा कम्पनी फर्म दर्ता गरी रु ५६ लाख पाँच हजार ६५० राजश्व सङ्कलन गरेको छ । कार्यालयले गत वर्ष उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत कार्य गर्ने विराटनगरका पाँच फर्मलाई कारवाही गरी रु पाँच हजारदेखि रु २० हजार जरिवाना गरेको छ । कारवाहीमा पर्ने फर्ममा वंशल भेराइटी, पाल भेराइटी, न्यू नीलकण्ड वाच, न्यू श्याम इम्पेक्स र नेशनल सर्जिकेम सप्लायर्स रहेको प्रमुख बरालले जानकारी गराउनुभयो ।
कार्यालयले गत आर्थिक वर्षमा मोरङ जिल्लामा रहेको १८२ फर्मको अनुगमन गरेको छ । यस वर्षको माघ मसान्तसम्मका ६८ फर्मको अनुगमन गरेको छ । दिवसका अवसरमा उद्योगी, व्यापारी तथा उपभोक्तालाई उपभोक्ता संरक्षण ऐन २०७५ का विषयमा सचेतना कार्यक्रम आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
ऐनअनुसार बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा व्यापारी उपभोक्ता हितविरुद्ध अनुचित क्रियाकलाप गरेको पाइएमा तत्काल रु पाँच हजारदेखि रु तीन लाखसम्म जरिवाना गर्ने अधिकार रहेको प्रमुख बरालले बताउनुभयो । कार्यालयले उपभोक्ता संरक्षण ऐन तथा बजार अनुगमनसम्बन्धी विषयमा गत आव विराटनगर, लेटाङ, केराबारी, उर्लाबारी तथा यस वर्ष बेलबारी, विराटनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यालयले बजार अनुगमनका कार्यका लागि कर्मचारी अभाव, स्थानीय, प्रदेशसँग समन्वय र साझेदारीमा कठिनाइ, अन्तरनिकाय समन्वय अभाव, सुरक्षाको प्रत्याभूति र संस्थागत दायित्व बोध तथा संस्थागत प्रयास नभएका जस्ता समस्या रहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस