काठमाडौँ । ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो ।
कारवाही पर्नेमा एक हजार ६४५ दुईपाङ्ग्रे तथा २९६ चारपाङ्ग्रे सवारीसाधन छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको जानकारी दिनुभयो । उक्त दुर्घटनामा १९ जना सामान्य घाइते भएको उहाँले बताउनुभयो । ५६६ ट्राफिक प्रहरीलाई काममा खटाएको थियो ।
‘उत्कृष्ट चालक र सहचालकलाई पुरस्कार दिइने’
चन्द्रागिरि यातायात प्रालिले सडक दुर्घटना नगराउने उत्कृष्ट चालक तथा सहचालकलाई पुरस्कार दिने भएको छ । प्रालिले आज यहाँ चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम पालना गर्ने चालक र सहचालकलाई पुरस्कार दिने घोषणा गरेको हो ।
सो प्रालिका अध्यक्ष गौतम श्रेष्ठले यात्रुलाई राम्रो सेवा प्रदान गर्ने चालक तथा सहचालकलाई प्रत्येक महिना रु तीन हजारका दरले पुरस्कार दिने घोषणा गर्नुभयो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सार्वजनिक सवारीसाधनलाई मर्यादित र सुरक्षित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले मादक पदार्थ सेवन, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा चलाएको बताउँदै सजक र संयम भएर सवारी चलाउन आग्रहसमेत गर्नुभयो ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरुमा हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चन्द्रागिरि यातायात हाल चन्द्रागिरिबाट रत्नापार्क चल्दै आएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
लाईसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिकको कदम विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ