गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्यले ‘नमुना विद्यालय’ को सुरुवात

सोमबार, २६ फागुन २०७६, ०७ : १३
गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्यले ‘नमुना विद्यालय’ को सुरुवात

सांकेतिक तस्बिर ।

सिन्धुपाल्चोक । गाउँपालिका भरीका माध्यमिक शिक्षा एकै विद्यालयमा दिने उद्देश्य राखेर सिन्धुपाल्चोकमा पहिलो पटक हेलम्बु गाउँपालिकाले ‘नमुना विद्यालय’ निर्माणको सुरुवात गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने र छरिएर रहेका मावि सम्मका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एकै विद्यालयमा राखेर गुणस्तर शिक्षा दिने उदेश्यले नमुना विद्यालय निर्माणको सुरुवात गरेको हो । हेलम्बु गाउँपालिका इचोकको घोप्टेघ्याङमा निर्माण सुरुवात गरिएको नमुना विद्यालयमा यो वर्ष १८ कोठाको विद्यालय भवन निर्माण सकिने र आगामी शैक्षिक सत्र देखि कक्षा नै सुरु हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

सुविधा सम्पन्न विद्यालयमा सबै विद्यार्थीहरुका लागि नयाँ शैलिको छात्राबास समेत निर्माण हुने छ । ‘हामी एकै कोठामा धेरै विद्यार्थी राख्ने भन्दा गाउँको परम्परागत शैलिको घरहरु निर्माण गरेर विद्यार्थीहरुलाई छात्राबासमा राख्ने योजना बनाएका छौ ।’ अध्यक्ष शेर्पाले भने ।

‘हामीले ल्याएको अवधारणमा छात्राबासमा कम्तीमा ५ देखि ८ जना सम्म विद्यार्थीहरु बस्छन्,भान्साकोठा देखि सबै सुविधा छात्राबासमा नै हुने गर्छ’ अध्यक्ष शेर्पाले भने ‘विद्यार्थीहरु आफै खाना पकाएर खान्छन् र स्कुल छाड्दा कम्तीमा पनि खाना कसरी पकाउने यो उनीहरुले विद्यालयबाट नै सिक्छन् ।’

हेलम्बुमा सुरुवात गर्न लागिएको नमुना विद्यालयमा बुद्धिष्टहरुको अन्तराष्ट्रिय भाषा सम्भोटा र हिन्दुहरु सस्कृति विद्या समेत विद्यार्थीहरुलाई पढाउने तयारी गाउँपालिकाको रहेको छ । बुद्धिष्टहरुले पनि सस्कृति पढ्छन् र हिन्दुहरुले पनि सम्भोटा पढ्छन गाउँपालिका अध्यक्ष शेर्पाले भने । ४० रोपनी क्षेत्रफलमा निर्माण हुने विद्यालयमा पौडी पोखरी,शिक्षकहरुका लागि आवस गृह लगायत धेरै सुविधा हुने छ ।

नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सार्वजनिक जग्गा र व्यक्तिको जग्गा भाडामा लिएर कृषि उत्पादनमा लगाउने योजना रहेको अध्यक्ष शेर्पाले सुनाए। विद्यार्थीहरु आफै कृषि उत्पादनमा जोडिनेछन्,होस्टेलमा बस्ने विद्यार्थीहरुले आफैले उत्पादन गरेका कृषि सामग्री उपभोग गर्ने योजना गाउँपालिकाले अघि सारेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

गाउँपालिकको आन्तरिक स्रोत,जिल्ला समन्वय समिति र वाग्मती प्रदेशको सामजिक विकास मन्त्रालयको सहयोगमा १४ कोठा र चार कोठा जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाको सहयोगमा यो वर्ष १८ कक्षा कोठा निर्माण सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिए । नेपालका हिमाली रेन्जका सामुदायिक विद्यालयहरु सुधार गर्ने हो भने सबै जिल्लामा यही अवधारण ल्याउनु पर्ने अध्यक्ष शेर्पाले बताए । ‘सरकारी विद्यालयहरु बचाउनका लागि पनि हामीले यो अवधारण ल्याएर काम समेत सुरु गरेका छौ,यो देशभरका लागि नमुना हुने छ,’ अध्यक्ष शेर्पाले भने ।

नमुना विद्यालय निर्माण हुने आसपासाका गाउँका बालबालिकाहरुका लागि भने बालविकासदेखि कक्षा १० सम्म यही विद्यालयमा पढाउने र गाउँपालिकाभरका मावि तहका विद्यार्थीहरुलाई भने यही विद्यालयमा ल्याएर अध्यापन गराउने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । सुरुमा कक्षा १० सम्म र त्यसपछि १२ कक्षा र पछि आवश्यकताको आधारमा स्नातक तहसम्म यही विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउने अध्यक्ष शेर्पाले बताए । यहाँ अध्ययन गरेका विद्यार्थीहरु पुर्णतय व्यावसायीक हुने छन् । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस